महोत्तरी । रोटरी क्लब अफ बर्दिबासमा नयाँ नेतृत्व चयन भएको छ । बर्दिबासमा आयोजित एक समारोहबीच अध्यक्ष पदमा सन् २०२४÷०२५ का लागि विष्णुराज पुरी चयन भएका छन् । नयाँ अध्यक्ष पुरीलाई निवर्तमान अध्यक्ष कृष्णप्रसाद गौतमले जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
बर्दिबासमा सन् २०१७ मा स्थापित रोटरी क्लव बर्दिबासले सातौँ अध्यक्षका रूपमा पुरीलाई पाएको हो । समारोहमा रोटरी क्लब अफ इन्टरनेसनल नेपाल÷भुटान शाखाका असिस्टेन्ट गवर्नर रामप्रसाद शर्माले नयाँ नेतृत्व टिमका सबै पदाधिकारी तथा सदस्यलाई पद ग्रहणको सपथ गराएका छन् । पहिलो सत्र निवर्तमान अध्यक्ष गौतमको अध्यक्षताको कार्यक्रममा पद हस्तान्तरण गरिएपछि समापनसत्र नयाँ अध्यक्ष पुरीको अध्यक्षतामा सम्पन्न भयो ।
मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदा थापाको प्रमुख आतिथ्यमा सम्पन्न पदस्थापन समारोहमा नयाँ अध्यक्ष पुरीले यसअघिको गौतम नेतृत्वको कार्यकालमा भएका रचनात्मक कार्यहरूको स्मरण गरे । सन् २०२३÷०२४ कार्यकालका अध्यक्ष गौतमको नेतृत्वमा बर्दिबासमा १०० बढी हातखुट्टा गुमाएकालाई कृतिम हातखुट्टा जडान गराएर उच्चतहको मानवीय सेवा रोटरीले पुर्याएको यहाँका सर्वसाधारण सम्झन्छन् । यसैगरी निवर्तमान अध्यक्ष गौतमको कार्यकालमा विश्व मुटु दिवसको अवसर पारेर मुटु, दाँत र मुख स्वास्थ्य परीक्षण र उपचार शिविर सम्पन्न भएको नयाँ अध्यक्ष पुरीले बताए ।
रोटरी क्लब अफ बर्दिबासले बितेको १ वर्ष (सन् २०२३ जुलाई १ देखि ३० जुन २०२४ सम्म) भित्रमा हाडजोर्नीसम्बन्धी निःशुल्क शल्यक्रिया सेवा, गत छठपर्वको अवसरमा पोखरी तथा मन्दिर सरसफाई, मावि हात्तीलेटमा ‘स्टुडेन्ट हेल्थ क्याम्प’ र बर्दिबासको कर्णाली भनिने झ्याउरे भांगेको खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण गरिएको रोटरीका मुख्य उपलब्धीपूर्ण कामका रूपमा नगरबासी सम्झन्छन् । यसबाहेक स्वास्थ्य, शिक्षा र मानवीय आवश्यकताका अति महत्वपूर्ण योजनाहरू कतिपय सम्पन्न भएका र कतिपय अझै जारी रहेका छन् ।
यसैगरी रोटरी क्लब बर्दिबासले बितेको एक वर्षमा सर्पदंश रोकथामसम्बन्धी तालिम, विद्यालयका शिक्षकलाई कम्प्युटर तालिम, विद्यालय र सार्वजनिक ठाउँमा शौचालयसहित सुविधायुक्त पूर्वाधार निर्माण थालिएको समारोहमा जानकारी दिइएको थियो ।
सन् २०१७ मे महिनामा सुरेशबहादुर राउत र दिपेन्द्र पराजुलीसहितका अगुवाको नेतृत्वमा बर्दिबासमा रोटरीको जन्म भएको हो । एकैपटक ३–४ वर्षसम्मका पदाधिकारी र सदस्यहरूको रोलक्रम पहिले नै निर्धारित गरिने परम्पराको रोटरी क्लब अफ बर्दिबास मुलुकभित्रकै अन्य क्लबको तुलनामा व्यवस्थित संस्थाका रूपमा मानिन्छ ।
हालसम्म बर्दिबासमा ७ जनाले रोटरी नेतृत्व लिइसकेका छन् । रोटरीमा प्रत्येक जुलाई १ देखि आउने वर्षको जुन अन्त्यसम्मको कार्यकाल निर्धारित हुन्छ । हाल रोटरी सदस्य ५० जना छन् ।
प्रतिक्रिया