मधेस ब्युरो । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने मागसहित मधेस प्रदेशमा शैक्षिक आन्दोलनको आन्तरिक तयारीमा जुटेको छ ।
पछिल्लो समय आजपा निकटको आमविद्यार्थी मोर्चाले मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमा शिक्षक, विद्यार्थीको अवस्था बुझ्न अनुगमन गरिरहेको छ । आमविद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले मधेस प्रदेशका कुनै पनि विद्यालयमा विद्यार्थी अनुपातमा तहगत र विषयगत शिक्षक नभएको बताए ।
‘हामीले यस बारेमा स्थानीय प्रशासनदेखि सरकारलाई जानकारी गराएका छौँ । मधेस प्रदेशका विद्यालयहरूमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग गरेका छौँ’, अध्यक्ष साहले भने, ‘सरकारले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था नगरे अब हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ ।’
आजपा र आमविद्यार्थी मोर्चाका नेताहरूले मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी जिल्लाका सयौँ विद्यालयमा विद्यार्थी र शिक्षकको अवस्था कस्तो रहेको भन्ने बारेमा अनुगमन गरेको छ । अनुगमन गरिएको रिपोर्ट पार्टी केन्द्रीय कार्यालयमा बुझाउने र सो बारेमा समीक्षा गरी आन्दोलनको घोषणा गरिने आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले जनाएका छन् ।
‘हामीले सयौँ विद्यालयको अवस्था के कस्तो छ भन्ने बारेमा विद्यालयमै पुगेर बुझेका छौँ । सरकारले मधेसको शिक्षालाई माथि ल्याउन नचाहेको देखियो । मधेसको गुणस्तरीय शिक्षाका लागि सरकारको कार्यशैली गैरजिम्मेवार रहेका देखिन्छ’, वरिष्ठ उपाध्यक्ष साहले भने, ‘हामीले विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था गराउन आन्दोलनमा जानुको विकल्प छैन ।’
आजपा र आमविद्यार्थी मोर्चाका नेताहरूले हालै धनुषा जिल्लाको विभिन्न विद्यालयमा विद्यार्थी र शिक्षकको अवस्थाको बारेमा अनुगमन गरेका छन् । जनकपुरधामस्थित श्री सरस्वती माध्यमिक विद्यालय, बसहियाको श्री गोपालप्रसाद नमुना माध्यमिक विद्यालय, श्री मध्यमिक विद्यालय गिद्धा बेलापट्टी लगायतका विद्यालयहरूको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम गर्दा त्यहाँ विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको अभाव रहेको देखिएको अनुगमनमा पुगेका आजपा वरिष्ठ उपाध्यक्ष साहले बताए ।
आजपा वरिष्ठ उपाध्यक्ष साहका साथै सचिव श्रीचन मुखिया, श्रीलाल महासेठ, ममता शर्मा सहितका नेताहरूको अनुगमनमा पुगेका थिए । अनुगमनमा पुग्दा कतिपय विद्यालयको भौतिक पूर्वाधारसमेत प्रर्याप्त नदेखिएको नेताहरू बताउँछन् । पीडादायी अवस्थामा विद्यार्थीहरूले पठनपाठन गर्नुपर्ने अवस्थ रहेको छ ।
शिक्षा ऐन विपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने निष्कर्षमा आजपा पुगेको छ । आजपा महासचिव त्रिभुवन साहले मधेसको शिक्षाको अवस्था सुधारका लागि सरकारले चासो नदिएको बताउँदै अब छिटै नै आजपा निर्णायक आन्दोलनमा उत्रिने बताए ।
विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन नभदेखिएको, एउटै कक्षाकोठामा सयौँ विद्यार्थीहरू कोचिएर पठनपाठन गर्नुपर्ने कारणले विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने सरकारका विरुद्धमा आन्दोलन गर्नुको विकल्प नभएको महासचिव साहले बताए । तहगत र विषयगत अपुग शिक्षक पूरा गर्न, गुणस्तरीय शिक्षाको व्यवस्था गर्न, विभेदकारी शिक्षकको दरबन्दी वितरण खारेज गर्ने लगायतका विषयमा छलफल गर्दै पार्टी केन्द्रीय कमिटीको निर्णयअनुसार अब अगाडि बढने उनले बताए ।
४० देखि ५० विद्यार्थी संख्यामा १ जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखि १०० विद्यार्थी बराबर १ शिक्षक रहेको र हजारौँ विद्यालयमा शिक्षक दरबन्दी शून्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यका लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्ष अनुगमनमा गएका नेताहरूको रहेको छ ।
मधेसका अधिकांश विद्यालयमा १०० देखि ३०० सयसम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पूर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक वर्ष बृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानसँगै अपुग हुने शिक्षक दरबन्दी वैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिवार्य रूपमा पूर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया