एसइईमा नवलपुरका १२ विद्यालयको नतिजा ‘शून्य’ (विद्यालयका नामसहित)

नवलपुर । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्राविधिकसहित ९ वटा सामुदायिक विद्यालय र तीनवटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।

जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई, हुप्सेकोट गाउँपालिकामा दुई, बुलिङटार गाउँपालिकामा दुई र विनयी त्रिवेणी गाउँपालिकामा दुई रहेका छन् । जिल्लाको मध्यविन्दुमा दुई संस्थागत विद्यालय एवं सामुदायिकतर्फ एक प्राविधिक धारको विद्यालय र साधारण विद्यालय रहेका शिक्षा विकास तथा समन्वय एकाइ नवलपुरले जनाएको छ ।

एकाइ प्रमुख रुद्र शर्माका अनुसार मध्यविन्दुको संस्थागततर्फ तमासपुरको सनराइज इङ्ग्लिस स्कुल र वल्र्ड लाइट इङ्ग्लिस बोर्डिङ स्कुल रहेका छन् । त्यस्तै, सामुदायिकतर्फ रत्नराज्य माध्यमिक विद्यालय र प्राविधिक धारको जनता माध्यमिक विद्यालय अरुणखोला छन् ।

सन्राइजले सात विद्यार्थी, वल्र्ड लाइटले छ विद्यार्थी, रत्नराज्यले आठ विद्यार्थी तथा जनता माविले २२ विद्यार्थी एसइईमा सहभागी गराएकामा सबै विद्यार्थी ‘अनुत्तीर्ण’ भएका एकाइ प्रमुख शर्माले जानकारी दिए । त्यसैगरी विनयी त्रिवेणीमा एक–एक संस्थागत र सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ ।

उनका अनुसार विनयी त्रिवेणीको संस्थागततर्फ दाउन्नेको अहिंसावादी महाबौद्ध अनाथ माध्यमिक विद्यालय तथा सामुदायिकतर्फ कुदापानीको भवानी माध्यमिक विद्यालयले एसइईमा विद्यार्थी उत्तीर्ण गराउन सकेनन् । अहिंसावादी विद्यालयबाट चार र भवानी माविबाट १० विद्यार्थी एसइईमा सहभागी भएका थिए ।

जिल्लाको गैँडाकोट नगरपालिकामा दुई विद्यालयको नतिजा शून्य आएको एकाइ प्रमुख शर्माले बताए । उनका अनुसार दमारको बालज्योति माध्यमिक विद्यालय र श्रीमद् रामानुज वेद विद्याश्रमको नतिजा शून्य आएको हो । बाल ज्योतिबाट ११ एवं वेद विद्याश्रमबाट तीन जना विद्यार्थी एसइईमा सहभागी थिए । गैँडाकोटको दमारमा रहेको विद्यालय जिल्लाकै बिकट ठाउँको विद्यालयको रूपमा रहेको उनले बताए ।

हुप्सेकोटको जनता माध्यमिक विद्यालय गुहेरी र जनकल्याण राष्ट्रिय माध्यमिक विद्यालय शंखदेवको नतिजा शून्य आएको छ । ती दुवै सामुदायिक विद्यालय हुन् । जनता माविबाट १५ जना विद्यार्थी र जनकल्याणबाट १८ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । जिल्लाको बुलिङटारबाट एसइईमा सहभागी भएका विद्यालयमध्ये गोरखकाली माध्यमिक विद्यालय अर्खला र जनजागृति माध्यमिक विद्यालय ढाँडबेसीको नतिजा शून्य आएको छ ।

नतिजा शून्य ल्याएका दुवै सामुदायिक विद्यालयमध्ये गोरखकालीबाट सात र जनजागृतिबाट चार विद्यार्थी एसइईमा सामेल भएको एकाइ प्रमुख शर्माले बताए । उनका अनुसार जिल्लाबाट सहभागी भएका प्राविधिक धारतर्फका आठ वटा सामुदायिक विद्यालयमध्ये दुई वटा विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन् ।

रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालय मुकुन्दपुर र डेढगाउँ माध्यमिक विद्यालयबाट एसइईमा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका थिए । जिल्लामा सामुदायिकतर्फ ८७ विद्यालयबाट चार हजार पाँच सय २३ विद्यार्थी एसइईमा सहभागी भएकामध्ये एक हजार आठ सय ५३ विद्यार्थी उत्तीर्ण भएका छन् ।

सामुदायिक विद्यालयतर्फ उत्तीर्ण विद्यार्थी ४० प्रतिशत रहेका जनाउँदै एकाइ प्रमुख शर्माले सामुदायिक विद्यालयबाट दुई हजार छ सय ७० विद्यार्थी ‘अनुत्तीर्ण’ भएका जानकारी दिए । संस्थागततर्फ ५२ विद्यालयका एक हजार चार सय चार विद्यालय एसइईमा सहभागी भएकामध्ये ९ सय ८७ विद्यार्थी उत्तीर्ण भएका शर्माको भनाइ छ ।

संस्थागत विद्यालयका विद्यार्थी उत्तीर्ण प्रतिशत ७० रहेको रहेको जनाउँदै उनले संस्थागत विद्यालयबाट चार सय १७ विद्यार्थी एसइईमा ‘अनुत्तीर्ण’ भएका बताए । जिल्लामा अनुत्तीर्ण भएका तीन हजार ८७ विद्यार्थी साउनमा हुने ग्रेडवृद्धि परीक्षामा सामेल भएर उत्तीर्ण भए कक्षा ११ मा अध्ययन गर्न पाउने एकाइ प्रमुख शर्माले जानकारी दिए ।

जिल्लाका एक सय ३९ विद्यालयबाट एसइईमा सहभागी भएका पाँच हजार ९ सय २७ विद्यार्थीमध्ये दुई हजार आठ सय ४० विद्यार्थी उत्तीर्ण भएका उनले बताए । जिल्लामा एसइईमा उत्तीर्ण विद्यार्थीको प्रतिशत ४७ दशमलव ९२ रहेको उनको भनाइ छ ।– रासस

प्रतिक्रिया