‘विपत्जन्य व्यवस्थापनमा सबै सरकारबीच सहकार्य आवश्यक’

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले विपत्जन्य व्यवस्थापनको पूर्व तयारीमा तीनै तहका सरकारबीच सहकार्य हुन जरुरी रहेको बताएका छन् ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारीको अध्यक्षतामा मंगलबार जनकपुरधाममा भएको संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारअन्तर्गत विपत् व्यवस्थापनका लागि अन्तरसरकार सम्बन्ध सुदृढीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री सिंहले विपत्बाट जोगिन थोरै लगानीमा पूर्वतयारी गरिए ठूलो क्षतिको जोखिम कम गर्न सकिने बताए ।

मधेस प्रदेश सरकार प्राकृतिक विपत्को सामना गर्न साधन र स्रोतले भ्याएसम्मका सबै तयारी गर्न तयार रहेको उनको भनाइ थियो । मुख्यमन्त्री सिंहले प्राकृतिक विपत्मा परेर घर गुमाएकाहरूलाई राहतस्वरूप १ लाख गरिबहरूलाई ३ लाखको घर बिमा गरिदिने गरी प्रदेश सरकारले रकम विनियोजन गरेको बताए । मधेस प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले विपत्पछि पीडितलाई दिने राहत व्यवस्थित बनाउन जरुरी रहेको बताए ।

सो कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साहको पनि उपस्थिति रहेको थियो । त्यसैगरी, मधेस प्रदेशका ८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, विभिन्न पालिकाका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया