मुख्यमन्त्री सिंह र क्रिएसन नेपालबीच द्विपक्षीय छलफल

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंह र क्रिएसन नेपालका प्रतिनिधिबीच मधेस केन्द्रित बहुआयामिक परियोजना सञ्चालन गर्ने संबन्धमा गम्भीर छलफल भएको छ । सोमबार मुख्यमन्त्री निवास मधेस भवनमा द्विपक्षीय छलफल भएको हो ।

मुख्यमन्त्री सिंहले क्रिएसन नेपालले अगाडि सारेको परियोजनाहरू मधेस प्रदेशका लागि अत्यन्त आवश्यक रहेको बताउँदै प्रदेश सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने बताए । मधेस योजना आयोगका उपाध्यक्ष डा.सोहन साहले क्रिएसन नेपालले अगाडि सारेका परियोजनाहरू छिटोभन्दाछिटो कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

जलवायु परिवर्तन, प्लास्टिकजनन्य फोहोरमैला व्यवस्थापन, पर्यटन बिस्तार, मधेस लगानीसम्मेलन लगायतका तत्काल परिणाम दिनसक्ने परियोजनाबारे गम्भीर छलफल भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । क्रिएसन नेपालको सचिव सुजाता कोइरालाको नेतृत्वमा आएको ४ सदस्यीय टोलीले परियोजनाबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए ।

सचिव कोइरालाले मधेस सरकारसँग दिगो सहकार्य गरी परिणाम ल्याउनका लागि क्रिएसन नेपाल नेतृत्व लिन तयार रहेको बताइन् । छलफलमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रिनसिप्ट परियोजनाका प्रमुख युनिश घिमिरे, क्याप परियोजनाका लिड उज्ज्वल उपाध्याय र मिडिया सल्लाहकार अनन्त अनुराग पनि सहभागी थिए ।

प्रतिक्रिया