अबैध विद्यालयहरूको बिगबिगी बढेको भन्दै उपमहानगरलाई ध्यानाकर्षण

जनकपुरधाम । नगरक्षेत्रभित्र अवैध विद्यालयको बिगबिगी बढेसँगै निजी विद्यालयहरूको छाता संगठन प्याब्सन, एनप्याब्सन तथा हिसानले त्यस्ता विद्यालयहरू तत्काल बन्द गर्न आग्रह गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहलाई ध्यानाकर्षण गराएका छन् ।

२०८० सालमै नगरपालिकाका पदाधिकारी तथा विद्यालय सञ्चालकहरू मिलेर एक समिति निर्माण गरी नगर क्षेत्रभित्र थुप्रै विद्यालयमा अनुगमन गर्दा १४ वटा अवैध विद्यालय फेला परेको थियो । अनुगमन गरेको १ वर्ष बितिसक्दासमेत ती विद्यालयहरू हालसम्म सञ्चालित रहेकोप्रति विद्यालय सञ्चालकहरू उपमहानगरपालिकाका मेयर मनोज साहसँग गुनासो व्यक्त गरेका थिए ।

विद्यालयहरूले आफ्नो विद्यालयमा अनिवार्य भर्नुपर्ने इमिसमा त्यस्ता अवैध विद्यालयहरूबाट आएका विद्यार्थीहरूको इमिस भर्न नसकेकोले पछि ती विद्यार्थीहरूसमेत अवैध ठहर हुने भन्दै मेयर साहलाई ध्यानाकर्षण गराएका थिए । मेयर साहले यी समस्याहरूको निदानका लागि ३ दिनभित्रै प्रक्रिया अगाडि बढाउने बताए । ईमिसको समस्या कसरी समाधान हुन्छ सोबारे शिक्षा शाखाका कर्मचारीसहित सामुहिक छलफल गरी निर्णय गर्ने र सो तत्काल समाधान हुने साहले आश्वासन दिए । एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरको नेतृत्वमा प्याब्सनसहित हिसानले समेत ऐक्यवद्धता जनाएका थिए ।

ध्यानाकर्षण पत्रमा जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गत सञ्चालित निजी विद्यालयहरूमध्ये १४ वटा विद्यालयले अनुमति नलिई दर्ताबिना नै सञ्चालन गर्दै आएकोमा बन्द गर्ने प्रयोजनार्थ विगत १ वर्षअघि २०८० जेठ महिनामा जनकपुरधाम उपमहानगरपालिका शिक्षा शाखाका पदाधिकारीलगायत अन्य सरोकारवाला व्यक्तिहरूले अनुगमन गरी तत्काल त्यस्ता विद्यालयहरू बन्द गर्ने निर्णय पारित भए तापनि हालसम्म बन्द नभएका र कक्षाहरू विगत सालमा जस्तै निर्वाधरूपमा सञ्चालन भइरहेका हुँदा हजारौँ बालबालिकाहरूको भविष्य अन्धकारतिर धकेलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

निजी विद्यालयमा अवैध ठहर गरिएका मध्ये ज्ञानगंगाले अवैध रूपमै जनकपुरधाम उपमहानगरपाकिाका शिक्षा शाखाबाट कर्मचारीहरूको मिलोमतोमा इमिस आइडीसमेत प्राप्त गरिसकेको स्रोतले जनाएको छ । पटकपटक अनुगमन भए तापनि गैरकानुनी रूपमा सञ्चालित विद्यालयहरूले हालसम्म अटेर गरी कक्षा स्तरोन्नति गरी धमाधम विद्यार्थी भर्ना गरिरहेकाले यस्ता माानवीय भविष्य नै अन्योलमा पार्नेजस्ता कार्यहरू रोक्नका लागि माग पत्रमार्फत गरिएको छ ।

गैरकानुनीरूपमा सञ्चालित विद्यालयहरू बन्द नभएमा आगामी दिनहरूमा कडाभन्दा कडा आन्दोलन गर्नसमेत पछि नहट्ने चेतावनीसमेत पत्रमार्फत दिइएको छ । धनुषा एनप्याब्सनका प्रमोद अग्रवाल र महेश मण्डलले एकातिर सरकारले माध्यमिक तहको शिक्षा पूर्णतः निःशुल्क रहेको भए पनि उपमहानगरपालिकाभित्रै सामुदायिक विद्यालयहरूले आर्थिक सहयोगको नाममा विद्यार्थीहरूबाट मोटो रकम लिएर पढाइरहेको दुर्भाग्यपूर्ण अवस्था रहेको गुनासो पोखे । उनले श्री गोगलप्रसाद नमुना माध्यमिक विद्यालय र श्री याज्ञवल्क्य ज्ञानकुप माध्यमिक विद्यालयमा भइरहेको अंग्रेजी माध्यमको अध्ययन अध्यापनप्रति इशारा गर्दै सो गुनासो पोखका थिए ।

प्रतिक्रिया