जनकपुरधाम । मधेस प्रदेश पर्यटकीय सम्भावनाको उर्वरभूमि रहेको मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।
बिहीबार होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले मिथिला नगरपालिकाको लालगढमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले मधेस चुरे पर्वत श्रेणीबाट भारतीय सीमासम्म फैलिएको भौगोलिक विविधतायुक्त प्रदेश रहेको बताए ।
‘हामीले पर्यटन प्रवद्र्धन गर्न प्रदेशका ८ जिल्लालाई ४ समूहमा राखेर काम गर्ने निर्णय गरेका छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘सम्भावित नयाँ ठाउँको पहिचान र यसअघि नै विशिष्ट महत्व बोकेका स्थलको संरक्षण र प्रवद्र्धन गरिनेछन् ।
मुख्यमन्त्री सिंहले मधेसका वन, भूगोल, धार्मिकस्थल, कृषि र स्वास्थ्य पर्यटनका मुख्य क्षेत्र बन्नसक्ने उल्लेख गरे । ‘आँखा र सर्पदंशको उपचार लिन भारतको बिहारबाट मान्छे आउँछन्, हामीले यसलाई स्वास्थ्य पर्यटनसँग जोड्न सक्नुपर्छ’, उनले भने । चुरे शृंखलाका चनौटे, बेसारेसहितका उच्च डाँडालगायतका स्थान पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको उनको भनाइ छ ।
जनकपुरधाम, राजविराज र सिमरासहित ३ विमानस्थललाई मुलुकका विभिन्न ठाउँसँग हवाई मार्गमा जोडेर व्यापार, व्यवसाय र पर्यटन प्रवद्र्धन गर्न सकिने उनले भनेको छ । ‘पर्वतीय क्षेत्र अवलोकन गर्न चाहने पर्यटकलाई हाम्रा विमानस्थलबाट १० मिनटमै अवलोकन गराउन सक्छौँ’, मुख्यमन्त्री सिंहले भने, ‘हामीले यसका लागि आवश्यक पूर्वाधार विकास गर्नुपर्छ ।’
विकासका सन्दर्भमा जनतामा पलाएको आशा मर्न नदिने मुख्यमन्त्री सिंहले प्रतिबद्धता जनाएको छ । कार्यक्रममा आयोजकका तर्फबाट मुख्यमन्त्री सिंहलाई नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरालाल गौतमले अभिनन्दनपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया