वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतीश सिंहले मधेस प्रदेशको कायापलटका लागि पर्यटनको विकास आवश्यक रहेको बताएका छन् । बुधबार पर्यटन विकास कार्यलय वीरगन्जले आयोजना गरेको सरकोकारवालासँग अन्तरक्रिया एवं संवाद कार्यक्रममा मुख्यमन्त्री सिंहले भने, ‘मधेस प्रदेशको विकास र समृद्धिको मुख्य आधार पर्यटन पनि हो । यदि पर्यटन क्षेत्रको विकास गर्न सकियो भने यो प्रदेशको कायापलट गर्न सकिन्छ । यसका लागि निजी क्षेत्रलाई पनि सँगै लिएर प्रदेश सरकारले काम पनि थालिसकेको छ ।’
प्रदेश सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटमा पर्यटकीय क्षेत्रका पूर्वाधार विकास र प्रचारप्रसारका लागि योजना र कार्यक्रमहरू समावेश गरिसकिएको जानकारी पनि उनले गराए । मधेस प्रदेशमा पर्सा र बारा, रौतहट र सर्लाही, महोत्तरी र धनुषा तथा सिरहा र सप्तरीका पर्यटकीयस्थललाई जोडेर ४ वटा पर्यटकीय सर्किट बनाउने काम भइरहेको उनले बताए ।
मधेस प्रदेशमा घुम्न आउने पर्यटकलाई कम्तिमा पनि ३ दिन बास बसाउन सक्ने गरी पर्यटन क्षेत्रमा प्रदेश सरकारले काम गरिरहेको जानकारी उनले गराए ।
मुख्यमन्त्री सिंहले भने, ‘अहिलेको सरकार पहिलेको सरकारको जस्तो मोजमस्ती गर्नका लागि बनेको होइन, रातदिन काम गर्नका लागि बनेको हो । मधेस सरकारमाथि विगत ७ वर्षदेखि परेको नकरात्मक धारणालाई मेट्ने गरी अहिलेको सरकारले काम गरिरहेको छ ।’
प्रतिक्रिया