डेढ वर्षअघि वृद्धको शरीरभित्र राखिएको पाइप सकुशल निकालियो

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ४ मा सञ्चालन रहेको सिभिल हयूमन हस्पिटल एन्ड रिसर्च सेन्टरमा एक वृद्धको शरीरभित्र रहेको पाइप सकुशल निकालिएको छ । डेढ वर्षअघि बायाँ मृगौलाको पथ्थरीको पीसीएनएल गराएका रौतहटको चन्द्रपुर नगरपालिका– ६ निवासी ६३ वर्षीय अमरबहादुर रावतको शरीरबाट पाइप सफलतापूर्वक झिकिएको हो ।

बायाँ मृगौलामा पथ्थरी भएपछि भरतपुरमा उपचार गराउन गएका रावतलाई डीजे स्टेन्ट हालिएको थियो । शरीरभित्र राखिएको पाइप ६ हप्ताभित्र झिक्नुपर्नेमा आर्थिक आभावका कारण लामो समयसम्म शरीरभित्र रहेको पाइप अस्पतालको सहयोगमा निकालिएको सिभिल हस्पिटलका सञ्चालक राजनकुमार साहले जानकारी दिए ।

वृद्धको शरीरभित्र राखिएको पाइप लामो समय भएकाले निकाल्न उच्च जोखिम हुँदा पनि डाक्टरहरुको सुझबुझले सफलतापूर्वक निकाल्न सफल भएको र बिरामीको अवस्था खतरामुक्त रहेको समेत साहले बताए । जेनरल सर्जन तथा यूरोलजिस्ट रोबोटिक सर्जरी डाक्टर राधेश्याम गुप्ताले सफलतापूर्वक पाइप निकालेका हुन् ।

बिर्सिएको डीजे स्टेन्ट सफलतापूर्वक स्पाइनल एनेस्थेसियामा हटाइएको डाक्टर गुप्ताले बताए । ‘मृगौलाको पथ्थरीको अपरेशन गरेपछि ६ हप्ताभित्र झिक्नुपर्ने हुन्छ’, डाक्टर गुप्ताले भने, ‘आर्थिक अवस्थाको कमजोरीका कारण ढिलो भएकोमा सफलतापूर्वक निकाल्न सफल भएकोमा आफै हर्षित भएको छू ।’

यस्तो अवस्थामा बिरामीको ज्यान जान सक्ने खतरा उच्च हुने गरेको भन्दै उनले अनुभवको आधारमा गरेको प्रयास सफल भएकोमा धेरै नै उत्साहित भएको बताए । आर्थिक अवस्थाको कमजोरीका कारण विभिन्न राजनीतिक दलका नेताहरुलाई सहयोग गर्न आग्रह गर्दा पनि कसैले सहयोग नगरेकाले बुबाको शरीरभित्र राखिएको पाइप झिक्न ढिलो भएको ६३ वर्षीय रावतका छोरा जीवन रावतले बताए ।

बुबाको उपचारका लागि आफूले धेरै जनासँग सहयोग माग गरे पनि सबैले आवश्वासन मात्रै दिएको भन्दै उनले खस सहयोग भने महिला अधिकारकर्मी पूजा पाठकले गरेको बताए । पीडित रावतले बुबाको शरीरभित्र राखिएको पाइप सिभिल हस्पिटल तथा महिला अधिकारकर्मी एवं सञ्चारकर्मी पाठकलगायत सहयोग गर्नेहरुप्रति उनले हार्दिकता व्यक्त गरे । हस्पिटलका सञ्चालक साहले उपचारमा लाग्ने शुल्क निःशुल्क गरेको तथा औषधिको चार्ज भने बिरामीका परिवारलाई लाग्ने बताए ।

प्रतिक्रिया