काठमाडौं । राजनीति शास्त्री तथा लेखक प्रा. कृष्ण पोखरेलको संस्मरणात्मक पुस्तक ‘फर्केर हेर्दा’सार्वजनिक भएको छ । शनीबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वसांसद तथा राजदूत कमल कोइराला, प्रा. कृष्ण खनाल, लेखक कृष्ण पोखरेल, लेखककी पत्नी सरु पोखरेल तथा राजनीतिक विश्लेषक शंकर तिवारीले संयुक्तरुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै कृष्ण खनालले झापा विद्रोहबारेमा बुझ्न पुस्तक उपयोगी हुने बताए । उनले झापा विद्रोहका सबैसँग सम्पर्क भएका लेखकले झापा आन्दोलनमा बौद्धिक खुराक दिनुभएको थियो कि भन्ने आशंकाको भने निवारण गरेको बताए । ‘झापा आन्दोलनमा ‘मेन्टरिङ’ दिनु भएको भन्ने बुझाइ थियो तर पुस्तकले त्यसको खण्डन गर्छ ।’ खनालले भने, ‘झापा आन्दोलनमा विमती पनि छ तर प्रष्ट छैन । वैचारिक असहमति कति हो प्रस्ट छैन ।’
हरेक आन्दोलनको उपलब्धी संस्थागत गर्न नसके इतिहासमा लोप हुंदै जाने खतरा रहने बताउँदै खनालले परिवर्तनमा झापा आन्दोलनको योगदान रहेको र माओवादी आन्दोलनको पनि भूमिका देखिएको उल्लेख गरे । माओवादी पनि शान्ति प्रक्रियामा नआएको भए त्यो आन्दोलन पनि एउटा घटना मात्रै सिमित भएर अवस्था रहन्थ्यो भन्दै उनले भने, ‘संस्थागत नभएको भए झापा विद्रोह पनि त्यस्तै एउटा घटनामा मात्रै दर्ज हुन्थ्यो ।’
उनले परिवर्तनको लागि योगदान गरेका पुरानो पुस्ता सकिंदै गएको र नयाँ पुस्ताले गति लिन नसकेकोमा चिन्ता जाहेर गरे । खनालले भने,‘ हिजोको क्रान्तिको राजनीतिक विरासत बोकेको पुरानो पुस्ता सकिदै छ,नयाँ पुस्ता कस्तो आउदैछ भन्ने गत चुनावले देखाएको छ ।’
कार्यक्रममा बोल्दै विश्लेषक शंकर तिवारीले पोखरेलको यो पुस्तक झापा आन्दोलनको इतिहास भएको बताउँदै राजनीतिशास्त्रका विद्यार्थीका लागि विशेष पठनीय हुने बताए । उनले तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले चाहेर पनि लेखक पोखरेललाई नियुक्ति दिन नसकेको प्रसंग उप्काउँदै नेतृत्वको अगाडी शीर नझुकाउनेलाई ठाउँ हुन्न भन्ने उदाहरण लेखक पोखरेल भएको पनि बताए ।
कार्यक्रममा बोल्दै लेखक पोखरेलले पुस्तकले आफ्नो जीवनका आरोह अवरोहका अनेकौँ पानालाई सार्वजनिक गरेको बताए । लेखक पोखरेलले झापा विद्रोहको बेला पार्टीलाई लेवि तिर्ने गरेको र झापामा शिक्षण पेशामा छँदा सिपी मैनालीलाई पञ्चायत शिक्षा पढाएको रोचक अनुभव पनि सुनाए ।
आफूले पार्टीहरुको तलतल मेट्न जनवर्गीय संगठनको व्यवस्था गरेको भनेर पढाएको बेला ‘चुरोटको तलतल मेट्न खैनी खाएजस्तै रैछ’ भनेर सिपी मैनालीले भनेको पनि पोखरेलले सुनाए । धेरै समय आफुले पार्टीलाई मासिक एक सय रुपैया लेवि तिरेको र लेवि लिन आर के मैनाली आउने गरेको स्मरण गरे । पोखरेलले भने, ‘सधैंजसो लेवि लिन आर के आउनुहुन्थ्यो, एक दुई पटक केपी ओली पनि आउनुभयो ।’
उनले बुद्दिजीवीले आलोचनात्मक विचार राखे पार्टीमा खेद्ने चलन रहेको अनुभव पनि सुनाए । कार्यक्रममा पूर्व राजदूत तथा पूर्व सांसद कमल कोइराला, पूर्वन्यायाधीश मोहनप्रसाद सिटौलाले सार्वजनिक भएको पुस्तक बारे चर्चा गरेका थिए । शिखा बुकले प्रकाशन गरेको ३३२ पेजको यो पुस्तकको मूल्य ६७५ रहेको छ
प्रतिक्रिया