सर्लाहीको छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

सर्लाही । सर्लाहीमा बिहिबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत बागमती १ रायमाझि चोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सडक छेउमा रोकि राखेको एन एल ०१ एएच ९२५२ नम्बरको लरिमा बस ठोक्किएको थियो ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बसले अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस लरिको पटाडीको भागमा ठोक्किन पुगेको थियो । सो दुर्घटनामा परी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका– ३ का ८५ वर्षीय दशरथ कोहार, सोही ठाउँका वर्ष ५० का रामकरण केवट र सोही जिल्लाको देवदह नगरपालिका– ११ बस्ने वर्ष ७० का कृष्णा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अन्य १७ जनाभन्दा बढी घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दिपक श्रेष्ठले बसमा ४० जना यात्रु सवार रहेको बताए । उनले बस चालक ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा रहेको र लरि चालक फरार रहेकाले खोजी कार्य चलिरहेको जानकारी दिए ।

त्यसैगरी बिहान साढे ११ बजेतिर नेपाल टेलिकम बरहथवा– ५ मा काम गर्ने एक मजदुरको करेन्ट लागेर ज्यान गएको छ । टेलिकमको अफिसमा काम गर्ने क्रममा बरहथवा– १० का वर्ष २१ का आबोध ठाकुरको करेन्ट लागेर ज्यान गएको हो ।

करेन्ट लागेर उनका भाई वर्ष १९ को आनन्द ठाकुर घाइते भएका छन् । काम गर्ने क्रममा दुई दाजुभाईलाई नै करेन्ट लागेर घाईते भएपछि तत्कालै सरस्वती अस्पताल हरिवनमा उपचारका लागि लगिएकोमा दाजु आबोधको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया