जनकपुर । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष भोला पासवानले पत्रकारिता क्षेत्रमा पनि सामाजिक प्रभाव कायम रहेकोले दलित समुदायका पत्रकारले विभेदको सामना गर्नु परिरहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनमा प्रमुख अथिति रहेका उपाध्यक्ष पासवानले सो कुरा बताएका हुन् ।
पत्रकार महासंघले सदस्यता वितरण गर्दा दलित र महिलालाई प्राथमिकता दिएको भए पनि नयाँ सदस्यता वितरण र नवीकरणमा जिल्ला, प्रदेश र केन्द्रले विभेद गरिरहेको बताउँदै उपाध्यक्ष पासवानले दलित समुदायका पत्रकारले सशक्त रूपमा प्रतिरोध गर्नुपर्ने बताए ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालले देशभरी महासंघका सदस्यता नवीकरण र शुद्धीकरणका नाममा दलित समुदायका पत्रकारमाथि गरिएको विभेदबारे अध्ययन गरेर सुझाव दिएको बताए । पत्रकारिता क्षेत्रमा समेत दलित समुदायका पत्रकारले अवसर पाउने सवालमा विभेदको सामना गर्नु परिरहेको उनको ठहर छ ।
आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले दलित समुदायका पत्रकारलाई छात्रवृत्ति, पत्रकारिता लगायतका अवसरमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । दलित समुदायका पत्रकारले मिसन पत्रकारिता गर्नुपर्ने बताउँदै यादवले भने, ‘पत्रकारिता पेसामा दलित समुदायललाई टिक्न मुस्किल छ ।’
तथ्यमा अधारित पत्रकारिता गर्न सुझाव दिँदै प्राधिकरण अध्यक्ष यादवले दलित समुदायका पत्रकार संगठित भएर पेसागत हकहितका लागि लड्न आग्रह गरेका थिए ।
मिडिया काउन्सिल मधेस प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारिता क्षेत्रमा पनि विभेद कायम रहेको बताउँदै पत्रकार महासंघले दलित समुदायका नयाँलाई सदस्यता दिने त कता हो कता भएका सक्रिय रहेका दलित समुदायका पत्रकार समेतलाई शुद्धीकरणका नाममा हटाउने प्रपञ्च गरिरहेको आरोप लगाए ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको मधेस प्रदेश अध्यक्ष समेत रहेका दासले संघलाई सक्रिय रूपमा परिचालन गर्दै दलित अधिकार कार्यान्वयनमा सहयोग पुग्ने ढंगले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले मधेस प्रदेशमा दलितमाथि दैनिक जातीय विभेद र हिंसाका घटना भइरहेको जानकारी गराएका थिए ।
दलित समुदायको १७ प्रतिशत जनंसख्या रहेको मधेसमा मानव अधिकार उल्घंनका घटनामा भने दलित समुदायका २१ देखि २९ प्रतिशतसम्म पीडित बन्नु परेको छ ।
सप्तरीको पातोमा दलित समुदायलाई ऐलानी जग्गाबाट हटाउने नाममा आधा दर्जनभन्दा बढीलाई निर्घात कुटपिट गरेको बताउँदै पासवानले दलित समुदायका पत्रकारलाई एकताबद्ध भएर विषय केन्द्रित पत्रकारिता गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा दलित अगुवा सुनिता मेस्तरले दलितमाथि घटना हँुदा प्रमाण नष्ट भएपछि पत्रकार तथा अधिकारकर्मी पुग्ने गरेको बताए ।
अशोक धन्कारद्वारा सञ्चालित कार्यक्रममा पत्रकार राजेश सक्सेनाले स्वागत गरेका थिए ।
प्रतिक्रिया