बारा । जिल्लाको निजगढ नगरपालिका–५ को आयोजनामा क्षयरोग मुक्त नेपाल घोषणा अभियानअन्तर्गत सरोकारवालासँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
निजगढ नगरपालिका–५ ले बारा जिल्लामै पहिलोपटक वडास्थित सरोकारवालासँग क्षयरोगसम्बन्धी छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । निजगढ नगरपालिका–५ का वडाध्यक्ष सूर्यबहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका प्रतिनिधि तथा वडाबासीको उपस्थिति रहेको थियो ।
अभिमुखीकरण कार्यक्रमलाई निजगढ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मनिशवर घिमिरे र निजगढ नगरपालिकाको क्षयरोग मुक्त नगरपालिका घोषणा कार्यक्रमका संयोजक सृजना तिवारीले सहजीकरण गरेका थिए । नेपाल सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने र सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखेको छ ।
तर, सरकारको क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य कार्यान्वयनमा नै चुनौती देखिएको छ । नेपालमा क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा देखापरेकाले पनि यो अभियान कार्यान्वयनमा चुनौती देखिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताए ।
महिलाभन्दा पुरुष बढी क्षयरोगको जोखिममा रहेको देखिन्छ । सरकारले क्षयरोगमुक्त नेपाल घोषणा अभियान सञ्चालन निर्देशिका २०७८ जारी गरे पनि बर्सेनि क्षयरोगका बिरामी थपिने गरेका क्षयरोग फोकल पर्सन सिर्जना तिवारीले बताइन् ।
क्षयरोगका बिरामीले लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ, तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन् । अर्कातिर, सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्नेजस्ता कारणले क्षयरोगीको संख्या घट्न सकेको छैन । एक जना संक्रमित बिरामीबाट २० जनासम्ममा क्षयरोग सर्न सक्ने सम्भावना हुने भएकोले क्षयरोगजस्ता रोग लागेमा तुरुन्तै नजिकको स्वास्थ्यचौकीमा उपचार गराउन तिवारीले आग्रह गरिन् ।
क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिनेबित्तिकै परीक्षण गराइहाल्नुपर्नेमा त्यसो नगर्दा क्षयरोग फैलिने गरेको उनले बताइन् । निजगढ नगरपालिकामा आर्थिक बर्ष २०८०/०८१ मा ११० जनामा क्षयरोग देखापरेको र जसमध्ये ४ जना वडा–५ को रहेको कार्यक्रममा जानकारी गराइएको थियो । क्षयरोगसम्बन्धी वडास्थित सरोकारवालासँगको छलफल तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै निजगढ नगरपालिका–५ का वडाध्यक्ष सूर्यबहादुर थापा मगरले निजगढ नगरपालिकाले बारा जिल्लामै सबैभन्दा पहिला यस्तो कार्यक्रम आयोजना गरेको बताए ।
निजगढ नगरपालिका–५ को कुनै पनि बासिन्दामा क्षयरोगसम्बन्धी लक्षण देखापरेमा तुरुन्तै नजिकको स्वास्थ्यचौकीमा सम्पर्क गर्न वडाबासीसँग उनले आग्रह गरे । क्षयरोग एउटा सरुवा रोग भएकोले यसले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलैसँग सर्ने भएकोले सबैले समयमै यस्तो रोगलाई रोक्नका लागि हातेमालो गरेर वडालाई मधेस प्रदेशमै सबैभन्दा पहिला क्षयरोग मुक्त वडा घोषणा गराउनुमा लाग्नुपर्नेमा जोड दिए ।
बारा
प्रतिक्रिया