रौतहट । रौतहटको देबाही गोनाही नगरपालिका–९ धरहरीमा अधुरो रहेको राधाकृष्ण मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ । २०६४ मंसिर १६ गते स्थापना भएको सो मन्दिर बजेट अभावका कारण अधुरो रहेको थियोे । लामो समयदेखि अधुरो रहेको मन्दिरलाई मध्यनजर गरी वडा–३ का वडा अध्यक्ष संजय पटेलको सहयोगबाट सम्पन्न भएको छ ।
करिब १७ वर्षदेखि अधुरो मन्दिरलाई स्थानीय रामनाथ यादवले आफ्नो २ कठ्ठा जग्गा धितोमा राखी शिलान्यास गराएका थिए । धार्मिक आस्थाको रूपमा रहेको राधाकृष्ण मन्दिरलाई स्थानीय स्तरबाट चन्दा संकलन गरी छत ढलानसम्म पुर्याएका थिए ।
त्यसपछि स्थानीय तहको स्थापना भएपछि वडामा निर्वाचित तत्कालीन वडा अध्यक्ष राजेश साहले २०७८ सालमा वडास्तरीय योजनाबाट २ लाख रुपैयाँ छुट्टयाई अधुरो मन्दिरको छत ढलान कार्य सम्पन्न गराएका थिए ।
तैपनि मन्दिर अधुरो नै थियो । २०७८ सालदेखि फिनिसिङ र रंगरोगनबिना अधुरो रहेको मन्दिरलाई वडा अध्यक्ष पटेलले निजी ३ लाख रुपैयाँ सहयोग गरी अधुरो मन्दिरको निर्माणकार्य सम्पन्न गराएका हुन् ।
स्थानीय र मन्दिरका पुजारी रामनाथ यादवले हालका नगरप्रमुख प्रेमलाल साहलाई पटकपटक आग्रह गरे पनि चासो नदेखाएका कारण अलपत्र परेको मन्दिरलाई वडा अध्यक्ष पटेलले निर्माण कार्य सम्पन्न गराएको पुजारी यादवको भनाइ छ ।
साथै मन्दिरमा यही असार ३१ गते मूर्ति प्राणप्रतिष्ठा गरिने पुजारी यादवले जानकारी दिए । मन्दिरमा राधाकृष्ण भगवान्को मूर्ति स्थापना भएपछि दर्शन र पूजा गर्ने भक्तजनको भिड लाग्ने पुजारी यादवको विश्वास छ । मन्दिरमा स्थापना हुन लागेका मूूर्तिको सम्पूर्ण खर्च स्थानीय जोहन राय यादवले बेहोर्ने मन्दिरका पुजारी यादवले बताए । पुजारी यादवले यो भन्दा पहिला पनि ठाउँठाउँमा पीपलको रुख रोपेर समाजमा आफ्नो नाम स्थापित गरी चर्चा कमाएका थिए ।
प्रतिक्रिया