गंगा दशहरा मनाइँदै

धनुषा । १० दिनसम्म मनाइने पर्व गंगा दशहरा आइतबारबाट सुरु भएको छ । गंगा दशहरामा गंगा नदीमा स्नान गर्दा सबै प्रकारको पापबाट मुक्ति पाउने जनविश्वास रहेको छ । ज्येष्ठ शुक्ल प्रतिपदादेखि सुरु हुने यो पर्व दशमीसम्म मनाइन्छ ।

सीता मातालाई रावणले हरण गरेपछि रावणको वध, लंकामाथि विजयी र सीतालाई फर्काउन भगवान् श्रीरामले प्रतिज्ञा गरेका थिए । उक्त सबै संकल्प पूरा गर्न १० दिन लागेको थियो । सोही बेलादेखि यो दशहरा पर्व मनाउन थालिएको बताइन्छ ।

त्यो बेला लंका जानलाई १०० योजन अर्थात् ४०० कोशको समुद्रको पुल बनाएर तर्नु पथ्र्यो । पुल निर्माण गर्न चानचुने कुरो थिएन । बाँदर श्रेष्ठ नलको नेतृत्वमा पुल निर्माण कार्य सम्पन्न भएको हिन्दूहरूको पवित्र ग्रन्थ रामायणमा उल्लेख छ ।

पुल निर्माणको शिलान्यास स्वयं भगवान् रामचन्द्रबाट रामेश्वरम भगवान् शिवको विधिवत स्थापना गरेर दशहराको पूण्यतिथिमा पूजा अर्चनासाथ पुल निर्माण भएको कुरा पनि रामायणमा चर्चा गरिएको छ ।

यो पर्व ज्येष्ठ शुक्ल प्रतिपदाबाट सुरु भई दशमीमा पूरा हुन्छ र त्यसैबेलादेखि दशहरा पर्व मानिँदै आएको बुझिन्छ । सकेसम्म प्रतिपदाबाट दशमीसम्म र त्यत्ति धेरै दिन नसके पनि दशमीको गंगा स्नानलाई अति महत्व मानिएको छ । अध्यात्मिक रामायणको युद्धकाण्ड चतुर्थ सर्गमा भगवान रामले सेतु निर्माण गरेको विस्तृत वर्णन छ र रामेश्वर शिवको दर्शन तथा पूजाको १–८ श्लोकसमा छर्लंग पारिएको छ ।

वराह पुराणका अनुसार जेष्ठ शुक्ल दशमीका दिन हस्त नक्षत्रमा गंगा नदी स्वर्गबाट पृथ्वीमा अवर्तीण भएकी थिइन् जसले सम्पूर्ण पाप नाश गर्दछिन् । यसकारण यो दिनलाई दशहरा भनिएको हो । जेठ महिना, शुक्ल पक्ष, दशमी तिथि, हस्तनक्षत्र, गर, आनन्द, व्यतिपात, कन्या राशिका चन्द्र, वृष राशिका सूर्ययुक्त १० योगको मिलन भएका दिनमा स्नान गर्नाले मानिसका सबै पाप पखालिने विश्वास छ ।

स्कन्द पुराणका अनुसार जो मानिसले दशहराका दिन गंगाको पानीमा उभिएर स्कन्द पुराणमा वर्णित गंगा दशहरा स्तोत्र १० पटक पढ्छ, उसका सबै कष्ट नाश हुन्छन् । दरिद्रता एवं असमर्थता भएकाले समेत सम्पूर्ण सामग्री तयार पारेर विधिपूर्वक गरिने गंगापूजाकै फल प्राप्त गर्दछन् ।

प्रतिक्रिया