काठमाडौँ । देशैभर बढेको अचाक्ली गर्मीसँगै डेंगी संक्रमण पनि भयावह बन्दै गएको छ । सरकारले हालसम्म देशका ७१ जिल्लामा डेंगी रोगको संक्रमण फैलिएको जनाएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगी हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगीको संक्रमण बढेको बताए । उनले गर्मीमा मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगीको जोखिम बढेको बताए । ‘गर्मीमा पानी संकलन गरेर राख्ने गरिन्छ । त्यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्छ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्छ,’ उनले भने ।
उनका अनुसार ७१ जिल्लामा १ हजार १३० जनामा संक्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनालाई डेंगी रोगको संक्रमण देखिएको थियो । उनका अनुसार कोसी प्रदेशमा २७२, मधेस प्रदेशमा ३०, बाग्मती प्रदेशमा ३९०, गण्डकी प्रदेशमा १७५, लुम्बिनी प्रदेशमा १३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा ११४, भक्तपुरमा २७ र ललिपतुरमा १८ जनामा गरी काठमाडौँ उपत्यकामै १५९ जनामा डेंगी संक्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेंगी रोग लाग्छ ।
डेंगी संक्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्छन् । लामखुट्टेबाट बच्नका लागि सधँै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ । यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मह्लमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि मन्त्रालयले सचेत गराएको छ ।
प्रतिक्रिया