बारा । पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयनको अवस्था समस्या र समाधानसम्बन्धी पत्रकारसँग छलफल गरिएको छ ।
एनिमल नेपाल नामक संस्थाको आयोजनामा वीरगन्जमा पत्रकारसँग बिहीबार पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयनको अवस्था समस्या र समाधानसम्बन्धी छलफल गरिएको हो । एनिमल नेपाल नामक संस्थाले पशुको संरक्षणका लागि सन २००९ देखि नै काम गरिरहेको र अहिले सर्वोच्च अदालतलेसमेत पशु ढवानी मापदण्ड २०६४ लागू गर्ने अनुमति दिए पनि अहिलेसम्म कार्यन्वयनमा आउन नसकेकोले पशु ढुवानी मापदण्ड २०६४ कार्यन्वयन ल्याउनका लागि पत्रकारले समाचार सम्प्रेषण गरेर ध्यानाकर्षण गराउन एनिमल नेपाल संस्थाले आग्रह गरेको छ ।
पशु ढुवानीका लागि ११ बुँदे मापदण्ड तयार भएको १७ वर्ष हुँदै छ । यो मापदण्ड व्यवहारमा अपनाइको भए ट्रकमा कोच्चिएका राँगा भैँसीको सकस देखिने थिएन । सरकारले २०६४ मा जारी गरेको ११ बुँदे मापदण्ड कागजमै सीमित हुँदा क्रुर तरिकाले पशु ढुवानी भइरहेको एनिमल नेपाल संस्थाको भनाइ छ ।
२०५५ को पशु सेवा ऐन र २०५६ मा जारी भएको नियमावलीअनुसार २०६४ मा ११ बुँदे पशु ढुवानी मापदण्ड जारी गरेको एनिमल नेपाल बाराका जिल्ला फिल्ड मेनेजर सत्रुधन पटेलले उक्त छलफलमा बताए । मापदण्ड अनुसार पशु ढुवानी गर्ने हरेक गाडीमा प्राथमिक उपचार बक्स हुनुपर्छ । त्यसैगरी शारीरिक बनावट फरक भएका पशु एउटै गाडीमा ढुवानी गर्न पाइँदैन । राँगा भैसीसँग पाडापाडी मिसाउन हुँदैन । सबै राँगाभैँसी, खसीबोकाको टाउको र मुख गाडीको अगाडिपट्टि चालकतर्फ फर्केको हुनुपर्छ ।
यसै गरी मापदण्डमा नाक र पुच्छर पनि बाँध्न पाइँदैन । राँगा, भैँसी, बोका खसी राख्ने गाडीमा ६ इन्च बाक्लो पराल, भुस वा सोत्तर राखेको हुनपर्छ । पशुको शरीर ठोक्किने गाडीको साइडमा फोम टाँसेको हुनुपर्छ । पशुलाई गाडीभित्र शून्य दशमलव ८४ देखि १ दशमलव २७ वर्गमिटर स्थान उपलब्ध हुनुपर्छ । यसो गर्दा एउटा ट्रकमा २० वटा जति पशु अटाउँछन् ।
पशुलाई गाडीमा दिनमा ८ घण्टाभन्दा बढी हिँडाउन पाइँदैन । गाडीमा घाँस पराल र दाना राखेको हुनुपर्छ । ८ घण्टा गाडीमा हिँडाएपछि ओरालेर दाना पानी खुवाउनुपर्छ । मापदण्ड अनुसार पशु ढुवानी गर्दा गाडीको रफ्तार प्रतिघण्टा ४० किलोमिटर हाराहारीमा मात्रै रहनुपर्छ । झ्याप्पझ्याप्प ब्रेक लगाउन र उफार्न पनि पाइँदैन । तर, माथिका यी मापदण्ड पालना भएको पाइँदैन, फिल्ड म्यमेजर पटेलले बताए ।
उनले बारा र पर्सामा संस्थाले राँगा, भैँसी ढुवानीमा हुने क्रुरता रोक्न काम गर्दै आएको बताए । राँगा भँैसी कसरी ढुवानी भएको छ भनेर अनुगमनमा जाँदा सरकारी निकायले समेत राम्रो नमान्ने गरेको उनले बताए । सो संस्थाले बारा पर्साका पत्रकारलाई पशुको संरक्षणको लागि पशु मापदण्ड २०६४ लागू गर्दिनका लागि सबैले आ–आफ्नो तर्फबाट समचार सम्प्रेषण गरिदिन छलफलमा सहभागी पत्रकारसँग आग्रह गरेका थिए । मुलुकी ऐन अपराध संहिताको दफा २९० मा पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने र त्यसो गरे ३ महिनासम्म कैद अथवा ५ हजार रुपैयाँ जरिवाना वा कैद र जरिवना दुवै हुने व्यवस्था छ ।
बारा
प्रतिक्रिया