५० हजार ऋण तिर्न नसक्दा दम्पत्तीको हत्या

दम्पत्ती र १ महिलासहित ३ जनाको विभत्स हत्याको शृंखला

काभ्रे । १ जनाबाट ३ जनाको हत्या भएको घटनाको शृंखला सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले ती हत्याको शृंखलाका विवरण बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

२०८१ जेठ ७ बेलुका काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका–४ तिनखुट्टे (महादेवटार) स्थित आफू बस्ने जस्ताले बारेको २ वटा टहरा मध्ये किराना पसल भएको टहरामा बस्ने ६१ वर्षीय मानबहादुर बल र भान्सा रहेको अर्को टहरामा बस्ने ६१ वर्षीया केकै माया तामाङ्नीलाई फलामको रड र हम्मर प्रयोग गरी हत्या गरेको घटना सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार सिन्धुपाल्चोक जुगल गाउँपालिका–१ का ३८ वर्षीय एकेन्द्र सार्कीले ती दम्पत्तीको हत्या आफूले सालीसँग लिएको ५० हजार ऋण तिर्न नसकेपछि मायाले लगाएको गरगहना र पसलको पैसा गर्दा पुग्ने देखेपछि आफूले हत्या गरेको स्वीकार गरेको बयान प्रहरीलाई दिएको प्रहरीले जनाएको छ ।

सार्कीले महादेवटारमा सडक निर्माणसम्बन्धी काम गर्दै आएका थिए । घटना भएको जानकारी प्रहरीलाई जेठ ८ गते आए लगत्तै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट संयुक्त रूपमा अप्रेसन महाभारत नाम दिई टोली गठन गरी गठित अनुसन्धान टोलीले घटनास्थलको अध्ययन तथा विश्लेषणलगायत अनुसन्धानका विभिन्न पद्दतिहरू प्रयोग गरी घटनाको अनुसन्धान गर्दै जाने क्रममा जेठ ७ गते मानबहादुर बल र निजको श्रीमती केकै माया तामाङनीलाई फलामको रड र फलामको घन लगायतका औजारहरू प्रयोग गरी हत्या गरी मृतक मानबहादुर बलको मोबाइल, मृतक केकै माया तामाङनीले लगाएका सुनका गरगहनाहरू, मृतकहरूको पसलमा रहेको रिचार्ज कार्डहरू तथा नगद रकमसमेत लुटी आफ्नो घर सिन्धुपाल्चोकतर्फ गएको भेटिएको थियो ।

उक्त घटनासँग सम्बन्धित खुलेका तथ्यहरूमा प्रहरीले प्रतिवादी एकेन्द्र सार्की मृतकहरूको पसलमा बेलाबखतमा गइरहने गरेको, निजको आर्थिक स्थिति कमजोर भएको, निजको ३ लाख रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी रहेको र सो रकम मध्येमा निजको सालीको ५० हजार रुपैयाँ जेठ महिनाभित्र तिर्नुपर्ने भन्ने कुरा खुलेको, एकेन्द्र सार्की घटनास्थल नजिकै बाटो निर्माण कार्य गर्ने गरेको, प्रतिवादीले मृतक केकै माया तामाङनीले लगाएको सुनहरू देखिरहेको, पसलमा रहेको पैसाहरू र मृतकले लगाएको सुनका गरगहनाहरू लुटी लगेको लगायतका तथ्यहरू भेटिएको बताएको छ ।

सार्कीले जेठ ७ गते राती १२ बजेको समयमा फलामको रड साथमा लिई मानबहादुर बलको घरमा गई पसल छेउको बाइक राखेको स्थानमा सो रड लुकाई साबुन तथा स्याम्पु किन्ने बाहाना बनाई बोलाउँदा मानबहादुर बलले भान्साकोठाको ढोका खोली पसलमा सामान निकाल्न गएको मौका छोपी केकै माया तामाङनी सुतेकै स्थान नजिकै रहेको काठको बिँड भएको फलामको घनले केकै माया तामाङनीलाई हानी हत्या गरी पसलतर्फ गई निजले लुकाएको उक्त फलामे रडले मान बहादुर बललाई टाउकोमा प्रहार गरी हत्या गरी उक्त पसलको घर्राबाट नगद रकम, रिचार्ज कार्ड, मृतक मानबहादुर बलको मोबाइल र मृतक केकै माया तामाङनीले लगाएको सुनको गरगहना लुटी घरको मेन स्वीचसमेत अफ गरी घटनास्थलबाट भागेको कुरा स्वीकार गरेको बयानसमेत प्रहरीलाई दिएका छन् ।

सार्कीलाई सो घटनामा संलग्न भएको आशंकामा जेठ १६ गते उनकै घर नजिकैबाट पक्राउ गरी प्रारम्भिक अनुसन्धानको क्रममती तथ्य खुलेको र जेठ २९ जिल्लान अदालतबाट ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ । सार्कीले घटना घटाउन प्रयोग गरेको फलामे घनलगायत घटनास्थलबाट बरामद गरिएका सबुद प्रमाणहरूलाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै जेठ २४ गते दिनको ४ बजे काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाँउपालिका–२ को काफलडाँडास्थित चुखाबाट तीनपीपल जाने कच्ची सडक खण्डको छेउमा बस्ने ५७ वर्षीय साहिँली तामाङलाई सोही ठाउँका छिमेकी ५७ वर्षीय मानध्वज तामाङले फलामको रडले शरीरको विभिन्न भागमा विभत्स तवरले निर्ममतापूर्वक प्रहार गर्दा साहिँली तामाङ घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा कार्यालयबाट विशेष अनुसन्धान टोली घटनास्थलमा खटी गएको र तत्काल घटना घटाउने मानिसलाई खोजतलास गर्दै जाने क्रममा सोही दिन ७ बजेको समयमा सोही घटनास्थल नजिकै जिल्ला काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–२ को काफलडाँडा घर बस्ने ६७ वर्षीय मानध्वज तामाङलाई हातमा २ फिट ६ दशमलव ५ इन्च लबाइ ३ दशमलव ५ इन्च गोलाइ भएको फलामको रडसमेत फेला पारी निजलाई तत्काल जरुरी पक्राउ पुर्जी दिई पक्राउ गरी निजले साथमा बोकेको उक्त फलामको रडसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त घटनामा पक्राउ परेका मानध्वजलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेस गरी म्याद थप अनुमति लिर्ई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया