उखुखेती र तरकारी बाली अनुसन्धानमा सफल भएँ : सहनी

मधेस ब्युरो । रौतहटको गढीमाई नगरपालिका–२ का युवा किसान कामेश्वर सहनीले उखु खेतमा गज्जबले तरकारी फलाएका छन् । उखु खेतीमा अन्य बाली लगाउने चलन नभएको अवस्थामा सहनीले पहिलोपटक ४ बिघा उखु खेतीमा विभिन्न किसिमका हरियो तरकारी उत्पादन गरेका छन् ।

सहनीले ८ बिघा खेतमा उखुबाली लगाएका छन् । उखुबालीमा अन्य बाली लगाउने खासै चलन नरहेको अवस्थामा किसान सहनीले विभिन्न किसिमका हरियो तरकारी उत्पादन गर्ने दुस्साहस गरेका छन् । सहनीले प्रयोगकै रूपमा उखुबालीमा सँगसँगै विभिन्न किसिमका हरिया तरकारी उत्पादनका लागि परीक्षण गर्न चाहेका थिए । सहनी भन्छन्, ‘उखु खेतीसँगै तरकारी बाली लगाउने अनुसन्धानमा म पूर्ण रूपमा सफल भएको छु ।’ उनले आफू सफल भएको दाबी गरे ।
सहनीले ४ बिघा उखुबालीमै प्याज, खुर्सानी, घिरौला, लौका, भन्टाजस्ता हरियो तरकारी उत्पादन गरेका छन् । उखुको उत्पादन पनि कम नहुने तथा तरकारी बाली पनि राम्रो उत्पादन गर्न सकिएकोले आफूलाई उखुखेतीको तरकारी बालीबाट राम्रो आम्दानी भएको सहनी बताउँछन् ।

सुरुमा उनले रिस्क लिएर उखुबालीलाई कस्तो असर गर्ला भनेर विभिन्न किसिमका तरकारी खेती गरेको त उत्पादन राम्रो भएको छ । उखुबालीमा पनि मौसम र झार सुहाउँदो अन्य तरकारी खेती गरेर उत्पादन लिन सकिने देखिएको सहनीको भनाइ छ । उखु खेतीलाई पनि मिश्रित खेती गरेर बहुबालीको उत्पादन लिन सकिने सहनी बताउँछन् ।

उखु लगाएको ३–४ महिनासम्म उखुको झार सानै हुने हुनाले उखु हुकाउँदै घिरौला, लौका, प्याज, खुर्सानी, भन्टाजस्ता हरियो तरकारी बाली लगाउँदा उखुबालीलाई कुनै नोक्सानी गर्दैन र उत्पादन पनि लिन सकिन्छ । कुनै खाली खेतमा लगाएको हरियो तरकारी बालीको जस्तै र त्यत्तिकै परिमाणमा उखु खेतीमा समेत हरियो तरकारी उत्पादन गर्न सकिने देखिएको सहनीको बुझाइ रहेको छ ।

सहनीले परीक्षणको रूपमा पहिलोपटक उखु बालीसँगै विभिन्न जातका हरियो तरकारी खेती गरेका छन् । सहनीले थोरै उखुमा प्याज रोपेकामा प्याजको उत्पादन निकै राम्रो भएको छ । अहिलेको मूल्यमा करिब ६० हजार मूल्य बराबरको प्याज उत्पादन भएको सहनीको भनाइ छ । यसै गरी केही उखुमा खुर्सानी खेती लगाएका थिए । खुर्सानीको उत्पादन राम्रो हुँदा करिब ७० हजार रुपैयाँको बेचेको सहनी बताउँछन् । यसै गरी घिरौला र लौकाले त अपेक्षा गरेको भन्दा राम्रो उत्पादन दिएको छ । सहनीले १ लाख रुपैयाँभन्दा बढीको घिरौँला र करिब साढे ३ लाख रुपैयाँभन्दा बढीको लौका बेचिसकेका छन् । यसै गरी हजारौँको भन्टा पनि बेचेको सहनी बताउँछन् । लौका र भन्टाले अहिले पनि दिनहुँ आम्दानी दिइरहेको उनले सुनाए ।

‘अब उखुको बोट बिस्तारै ठूलो भइरहेकोले करिब लौकाको करिब आधा लहरा काटिसकेको छु । उखुको बोटलाई हुर्कन तथा नयाँ बिरुवा पलाउनका लागि लौका बिस्तारै हटाउँदै लगेको छु’, उनले भने । अझै पनि कम्तीमा ५० हजार रुपैयाँको लौका र कम्तीमा १० हजार रुपैयाँ बराबरको भन्टा निस्किने सहनीको अनुमान रहेको छ ।
उखुबालीमा कुनै पनि तरकारी खेती गर्दा अतिरिक्त सिँचाइ गर्नुनपर्ने तथा उखुकै लागि गरिएको सिँचाइ र गोडमेलले तरकारी बालीलाई पनि स्याहार पुग्छ । उखुबालीलाई दिएको मलजलले पुग्ने हुँदा उखुसँगै गरिने मिश्रित तरकारी बालीले उखुलाई पनि फाइदा पु¥याएको सहनीको अनुभव छ । जमिनमा तरकारी बालीको लहर वा झारले छोप्दा जमिनको चिस्यान मर्दैन र दिइएको मलजलले राम्ररी काम गर्न पाउँछन् । उखुबालीमा गरिने तरकारी खेतीले किसानलाई अतिरिक्त आम्दानी दिने देखिएको सहनी विश्वासपूर्वक बताउँछन् ।

उखुसँगै गरिएको हरियो तरकारी खेतीले आफू निकै उत्साहित भएको सहनी बताउँछन् । सहनीले अरूलाई पनि उखुबालीसँगै तरकारी खेती गर्न सल्लाह दिँदै भन्छन्, ‘धेरै उत्पादन हुँदा खेतसम्मै ब्यापारीहरू पुग्दछन् । उत्पादन राम्रो हुँदा ब्यापारीहरूले नगदै दिएर तरकारी लाने गरेका छन् ।’ हरियो तरकारी बेच्न कुनै समस्या नभएको बताउँदै सहनी सगर्व भन्छन्, ‘एक वर्षका कृषिबाट म कम्तीमा ३० लाख रुपैयाँ आम्दानी गर्ने गरेको छु ।’

प्रतिक्रिया