मौलापुरले जनाताबाट कुनै पनि कर नलिने

नगरका सबै नागरिकको विद्युत् महसुल पालिकाले बुझायो

मधेस ब्युरो । रौतहटको मौलापुर नगरपालिकाले नगरका सबै नागरिकको विद्युत् महसुल बुझाएको छ । नगरप्रमुख रिनाकुमारी साहले नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण शाखा प्रमुख दिनेश यादवलाई चेक हस्तान्तरण गरेर नगरका सबै नागरिकको विद्युत् महसुल बुझाएकी हुन् ।

नगरप्रमुख साहले विद्युत् शाखा प्रमुख यादवलाई ४५ लाख २६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी छन् । नगरप्रमुख साहले सोमवार चेक हस्तान्तरण गर्दै नागरिकले उपभोग गरेको विद्युत् महसुल नगरपालिकाले बुझाएको बताएकी छन् ।

मौलापुर नगरपालिकाभित्र बसोबास गर्ने सबै नागरिकको घरायसी तथा कृषि विद्युत् मिटरको महसुल तिर्दै आएको छ । चुनावको समयमा नगरप्रमुख उम्मेद्वार साहले सबै नागरिकको घरायसी तथा कृषि मिटरको विद्युत् महसुल तिरिदिने घोषणा गरेअनुसार तिर्दै आएको बताएकी छन् ।

मौलापुर नगरपालिकाले गत ५ वर्षदेखि नगरका बासिन्दालाई निःशुल्क विद्युत् दिँदै आएको छ । चालु आर्थिक वर्षमा मात्रै नगरपालिकाले ३ करोड ४३ लाख ५० हजार रुपैयाँ विद्युत् प्राधिकरणलाई बुझाइसकेको छ ।

कुनै पनि कर जनताबाट नलिइरहेको नगरपालिकाले धेरै सुविधा दिइरहेको छ । मौलापुर नगरपालिकाले खानेपानीको सुविधा पनि निःशुल्क उपलब्ध गराएको छ । आफ्नै स्रोतमा प्राविधिक शिक्षा तथा एफएम रेडियो पनि सञ्चालन गरिरहेको मौलापुर नगरपालिकाले शिक्षाको क्षेत्रमा करोडौँ खर्च गर्ने गरेको छ । सम्पूर्ण बजेटको करिब ४० प्रतिशत शिक्षामा खर्च गर्दै आएको मौलापुर नगरपालिकाले करिब ३ दर्जन शिक्षक आफैँले नियुक्त गरेको छ ।

कृषि, शिक्षा, स्वास्थ्य तथा आवासको क्षेत्रमा मौलापुर नगरपालिकाले उदाहरणीय काम गरेको छ । सकेसम्म स्थानीय सरकार भएको अनुभूति नगरपालिकाले दिन खोजेको बताउँदै नगरप्रमुख साहले जनतालाई सेवा र सुविधा दुवै दिनु नगरपालिकाको कर्तव्य भएको बताइन् ।

रौतहटमा सबैभन्दा बढी सुविधा दिने तथा सबैभन्दा बढी विकास गर्ने नगरपालिकाको रूपमा मौलापुर चिनिएको छ । महिलाको नेतृत्वमा २ कार्यकालमा मौलापुर नगरपालिकाले अकल्पनीय प्रगति गरेको छ ।

संघ तथा प्रदेश सरकारले घोषणा गरेको बजेट समयमा नै उपलब्ध गराउने हो भने अझै पनि धेरै सकारात्मक काम गर्न सकिने अवस्था रहेको नगरप्रमुख साहको भनाइ छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया