बोक्सी आरोपमा महिलामाथि कुटपिट

धनुषा । महोत्तरीमा बोक्सी आरोपमा १ महिलामाथि कुटपिट भएको छ । महोत्तरीको भंगहा नगरपालिका–१ कविलासकी ४० वर्षीया जगतारन देवी साहमाथि कुटपिट भएको हो ।

कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधामस्थित काव्या अस्पतालमा भइरहेको छ । गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेकी ५० वर्षीय राजेश साहले घरमा पसेर आफूमाथि कुटपिट गरेको घाइते जगतारनले बताइन् ।

कुटपिट गर्ने राजेशको आफन्तका २ महिनाअघि २ महिने शिशुको मृत्यु भएको थियो । त्यसैबेलादेखि उनले टुनामुना लगाएको भन्दै बोक्सी भनेर गालीगलोज गर्ने गरेको र सोमबार घरमै पसेर गालीगलोज गर्दै आफूमाथि लात, मुक्का, फाइटले शरीरको विभिन्न भागमा कुटपिट गरी घाइते बनाएको पीडित जगतारनको दाबी छ । जगतारनको पति वैदेशिक रोजगारीमा छन् ।

यता महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जगतारनमाथि समान्य विवादमा कुटपिट भएको बताए । तर, बोक्सी आरोपमा भएको भन्ने जानकारीमा नआएको डिएसपी जयसवारको भनाइ छ । उनले पीडित सम्पर्कमा आए सोहीअनुसार घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउने बताए ।

प्रतिक्रिया