बैंकले दिँदैन ऋण, मिटरब्याजका कारण सुकुमबासी !

तराईका किसानको पीडा

पर्सा । तराई–मधेसका अधिकांश परिवार अझै पनि गरिबीको रेखामुनि छन् । घरपरिवार चलाउन सक्ने नियमित आम्दानी अहिले पनि धेरैको छैन । यस्तोमा जीविकोपार्जनका लागि ऋण काढ्नु उनीहरूको बाध्यता बनेको छ ।

अभिभावकीय जिम्मेवारीमा रहेका घरमूलीले घर खर्च, बिरामी खर्च, पढाइ खर्चसहित वैवाहिकसमेत अन्य भइपरी आउने खर्च जसरी पनि जुटाउनैपर्छ । तर, कृषिमा आधारित ग्रामीण क्षेत्रका बासिन्दालाई बैंकले ऋण लगानी गर्दैन । त्यसपछि उनीहरू बाध्य छन्, गाउँकै धनी महाजनको दैलो गुहार्न । गरिब जनताको यही बाध्यता बुझेर साहु महाजनले मौकाको फाइदा उठाउँदै आफू रातारात मालामाल भइरहेका छन् । थोरै लगानी गरेको ऋण असुल्न साहुहरूले ऋणीको करोडौँ मूल्यका जग्गा आफ्ना नाममा गर्ने गरेका छन् ।

पोखरिया नगरपालिका–२ झखराका किसान नागेन्द्रप्रसाद यादवले घरकाजका लागि साहुबाट १५ लाख रुपैयाँ ऋण लिएका थिए । तर, धितोका रूपमा राखेको खेत नै साहुले हडप्न खोजे । पुस्तौँदेखि आफूले खेतीपाती गर्दै आएको खेत साहुले खोसिदिएपछि आफू अन्यायमा परेको पीडित यादव बताउँछन् । ‘धितोस्वरुप राखेको जग्गा नै साहुले हडप्ने षड्यन्त्र थालेका छन्,’ उनले भने, ‘साहुले गुण्डा पठाएर मलाई खेतमै कुटपिट गर्न लगाए । गाउँलेलाई गुहारेपछि गाउँलेको सहयोगमा गुण्डाहरूलाई लखेटेपछि मात्र मैले खेत जोत्ने वातावरण पाएको हुँ ।’

रोजगारीका लागि पतिलाई विदेश पठाउन २ लाख रुपैयाँ ऋण लिएकी पर्सागढी नगरपालिका–७ चैनपुर वागेश्वरीकी रम्भादेवी पाण्डेलाई पनि साहुले जालझेल गरी अप्ठेरोमा पारेका छन् । साहुले थोरै रकमका लागि आफ्नो पुस्तैनी सम्पत्ति साढे १७ कठ्ठा खेत हत्याएको पीडित पाण्डेले बताइन् । ‘मिटरब्याज महारोग र अक्षम्य अपराध पनि हो । दैनिक गर्जो टार्न तथा व्यवहार चलाउन गरिब निमुखासँग रकम नभएपछि उनीहरूले गाउँघरका साहु महाजनलाई गुहार्ने चलन पुरानै हो,’ उनले भनिन्, ‘तर पछिल्लो समय साहु महाजनले नैतिकता गुमाउँदै गएका छन्, उनीहरूको मनमा पाप पलाउन थालेको छ ।’ ऋणीहरूलाई चक्रीय ब्याजको चपेटामा पार्ने र तिर्न नसक्ने अवस्था बनेपछि जग्गा नै हडप्ने प्रवृत्ति पछिल्लो समय मौलाउदै गएको उनले बताइन् ।

साहु महाजनहरूको अत्याचार सहन नसकेपछि मिटरब्याज पीडितहरू न्यायको खोजीमा सडकमा उत्रिन बाध्य भएका छन् । यसरी नै कर्जामा डुबेकी बहुदरमाई गाउँपालिका–१ विश्रामपुरकी किरण देवी पनि झनै पीडित छिन् । घरमा पढेलेखेका छोराछोरीले समयमा रोजगारी नपाउँदा आफूले ऋणको बोझ बोकेर पुस्तैनी सम्पत्ति गुमाउन पुगेको उनले बताइन् ।

विभिन्न परिबन्दमा परी साहुबाट ऋण लिएर काम चलाउँदा पनि ऋणीहरू कानुनको फितलो कार्यान्वयनका कारण झनै पीडित बन्नुपरेको पोखरिया नगरपालिका–५ सतवरियाका अर्का पीडित गोवद्र्धन यादवले बताए । कानुनको गलत प्रयोग भइरहेका कारण आफूहरूले आफ्नै देशमा शरणार्थी जीवन बिताउनुपरेको उनको भनाइ छ ।

‘सरकारकै गलत रबैयाका कारण हामी झन् पीडित बन्नुपरेको छ,’ उनले भने, ‘आफ्नै देशमा शरणार्थीझैँ जीवन बिताउनुपरेको छ ।’ आफूहरूले लोकतान्त्रिक व्यवस्थामा पनि सरकारको अनुभूति गर्न नपाएको उनको गुनासो छ ।

प्रहरी प्रशासन तथा विभिन्न राजनीतिक दलका नेताहरूका कारण आफूहरू थप पीडित बन्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति पर्साका अध्यक्ष एवं विन्दवासिनी गाउँपालिका–२ का कृष्णदास ठाकुरले बताए । ‘प्रहरी प्रशासनले पीडितको भन्दा पैसावालाको कुरा बढी सुन्छ,’ उनले भने, ‘हाम्रो कामका लागि दिनभर लाइन बस्नुपर्ने अवस्था छ । त्यसपछि पनि हाम्रो कुनै सुनुवाइ हुँदैन ।’ विश्वास गरेर धितोबापतको जग्गा नामसारी गर्दा साहुले फाइदा उठाइरहेको उनले गुनासो गरे ।

साहुले लगानी गरेको ऋणबापत आफ्नो नाममा ऋणीको जग्गा नामसारी गराउने चलन पनि पुरानै हो । तर, अहिले आएर धितोबापत आफ्नो नाममा गराएको जग्गा धमाधम साहुहरूले कब्जा गर्न थालेपछि ऋणीहरू झन् पीडित बनेका हुन् । कानुन कार्यान्वयन र निष्पच्छ छलफल गरी पीडितहरूलाई यथाशीघ्र न्याय दिएर यो समस्याको उचित निकास दिनुपर्नेमा सरोकारवालाहरूको जोड छ ।

प्रतिक्रिया