गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा । नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्षसहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले सोमबार पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गाउँपालिका–२ मझौरामा मधेस सरकारको सांसद अनुदानबाट राम जानकी दलित आधारभूत विद्यालयको अधुरो कार्य पूरा गर्नका लागि दिएको रकमको योजनामा कुनै पनि कार्य नगरी रकम हिनामिना गरेको उनीहरूमाथि आरोप छ ।

सो विद्यालयको अपुरो कार्य पूरा गर्ने योजनामा विद्यालय भवनको काम नै नगरीझुट्टा मूल्यांकन गरी भुक्तानीका लागि स्वीकृत गराई, फिल्डमा नभएको कार्यलाई भएको देखाई १४ लाख ५१ हजार ५५१ रुपैयाँ भुक्तानी लिई पालिकालाई हानीनोक्सानी पुर्याएको उनीहरू विरुद्धको उजुरीमा उल्लेख छ ।

आयोगले तत्कालीन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, तत्कालीन योजना शाखा प्रमुख रमेश कुमार निधि, तत्कालीन जिन्सी प्रमुख संजयप्रसाद यादव, वडा–४ का वडा अध्यक्ष मदन यादव र वडा–५ का तत्कालीन वडा अध्यक्ष मनोजकुमार यादव, २ वडाका तत्कालीन वडा अध्यक्ष खुसीलाल साह, उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीनारायण मुखिया, कोषाध्यक्ष घुरनीदेवी मण्डल र सचिव रामभरोस मुखिया मलाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, लेखापाल सोमप्रसाद आचार्य, इन्जिनियर कृष्णा साह र सब–इन्जिनियर सन्तोषकुमार यादव लगायतलाई सजाय र बिगो बमोजिमको जरिवाना सजाय हुन मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप–पत्र दायर गरेको छ ।

प्रतिक्रिया