काठमाडाैं । गण्डकी प्रदेशमा फ्लोर क्रस गरेका माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरूङ मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संसदमा प्रस्तुत हुनुअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्री नियुक्त गरेका हुन् ।
उनीहरूको शपथ आजै बिहान साढे ११ बजे पोखरा ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको हलमा गर्ने तयारी छ ।मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका राप्रपाबाहेक अन्य दुई सांसदलाई मन्त्री बनाएका हुन् । राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।
फणीन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन् । मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।
प्रतिक्रिया