मधेसले खुद्रे योजनामा लगानी नगर्ने

जनकपुरधाम । मधेस सरकारले आर्थिक वर्ष २०८१/०८२ मा खुद्रे योजनामा लगानी नगर्ने जनाएको छ । जनकपुरधाममा उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले आयोजना गरेको पर्यटन क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेशका मन्त्रीहरूले खुद्रे योजनामा लगानी नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मधेसका अर्थमन्त्री भरत साहले यसअघि प्रदेश सरकार खुद्रे योजनामा विशेष ध्यान दिएकाले विकासको अनुभूति हुने गरी काम नभएको बताए । उनले दीर्घकालीन योजनाहरू ल्याएर प्रदेशको पर्यटकीय स्थलहरूको पहिचान गरी काम गर्नु अहिलेको आवश्यकता रहेको बताए । मन्त्री साहले संघ सरकारले ठुल्ठुला योजनामा लगानी गरिरहेकाले प्रदेश सरकारले कम्ती मझौला योजनाहरूमा लगानी गर्नुपर्ने र ससाना योजनाहरू स्थानीय सरकारलाई छोड्नुपर्ने बताए ।

उनले जानकी मन्दिरलाई बेस बनाएर रामायण सर्किटकै नमुनामा सीता सर्किटको विकास गर्नतर्फ केन्द्रित हुनुपर्ने बताए । यसले मधेसको पर्यटनलाई टेवा पुग्ने उनको भनाइ थियो । उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले मधेसको पर्यटन क्षेत्रको विकासका लागि ४ वटा सर्किट निर्माण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको जानकारी दिए । उनले सिरहा–सप्तरी, धनुषा–महोत्तरी, सर्लाही–रौतहट र बारा–पर्सालाई जोडेर ४ वटा सर्किट निर्माणमा प्रदेश सरकार केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरे । उनले यसमा पनि जानकी मन्दिर र जनकपुरधामलाई केन्द्रमै राखिने जानकारी दिए । यसअघि बजेट भए पनि बजेट फ्रिज हुँदै गइरहेको गुनासो गर्दै त्यसलाई कम गर्न खुद्रे योजनामा केन्द्रित नै नहुने बताए ।

होटेल एसोसिएसन अफ नेपाल मधेसको अध्यक्ष विजय झुनझुनवालले परमिटको समस्याका कारण कतिपय पर्यटकलाई जनकपुरधाममा टिकाउन नसकेको उनले गुनासो गरे । उनले अहिले २४ घण्टाका लागि दिइँदै आएको निःशुल्क परमिटको व्यवस्था कि त हटाइदिनुप¥यो कि त यो व्यवस्थालाई ३ दिन पु¥याउने गरी संशोधन गर्नु आवश्यक रहेको बताए । झुनझुनवालले मधेसमा प्रत्येक धर्मावलम्बीका लागि आस्थाका केन्द्रहरू रहेको जानकारी दिँदै ती स्थानहरूलाई चिन्हित गरेर सोको व्यवस्थापनतर्फ लाग्न प्रदेश सरकारलाई आग्रह गरे ।

उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव राजिव पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन तथा होटेल व्यवसायी संघ मधेसका अध्यक्ष हिरा गौतम, अर्थ मन्त्रालयका सचिव, विभिन्न होटेल तथा पर्यटन व्यवसायीहरूले आ–आफ्नो मन्तव्य राखेका थिए ।

प्रतिक्रिया