पर्सा । सानालाई ऐन ठुलालाई चैन भने उखान पर्सामा चरितार्थ भएको छ । आमजनताको जीवनसँग खेलवाड गर्दै आएको नेसनल मेडिकल कलेज वीरगञ्जका सञ्चालक र कर्मचारीलाई पर्सा प्रहरीले आर्थिक चलखेल गरी अनुसन्धानको नाममा उन्मुक्ति दिन खोजेको छ ।
पर्सा प्रहरीले नेसनल मेडिकल कलेज भेडियाहीमा २ महिनाअघि छापामारी प्रमाणसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीले नियन्त्रणमा लिए पनि साहनवाज र सञ्जयलाई प्रहरी हिरासतमा बस्नु परेन । उनीहरूलाई बिरामीको बहाना बनाउँदै वीरगञ्ज हेल्थ केयर अस्पतालको सुविधा सम्पन्न उपचारकक्षमा भर्ना गरिएको थियो । उनीहरूको स्वास्थ्य समस्या बहाना मात्रै रहेको टिप्पणी हुने गरेको छ ।
ठूल्लै चलखेलका कारण उनीहरूले प्रहरीको हिरासत बाहिर अस्पतालमा बसरे एक साता नबित्दै हाजिरी जमानीमा छुटेका थिए । दुबैजनालाई छुटाउन मेडिकलका कर्मचारी र चिकित्सकले आन्दोलन गरी प्रहरीमाथि दबाब सिर्जना गरेका थिए ।
तर, तत्कालीन अवस्थामा दबाब प्रभावको प्रवाह नगरेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुंगेल किन र कसरी पछि हटे अहिले शंकाको विषय बनेको छ । सुरुमा उनकै नेतृत्वमा खटिएका सुरक्षाकर्मीले दुबै जनालाई ठूलो परिमाणमा म्याद गुज्रेका रिएजेन्ट रसायनसहित गत चैत २६ गते कलेजको प्रयोगशालाबाटै नियन्त्रणमा लिएको थियो ।
जनगुनासो बढेपछि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमसहित जिल्ला प्रशासन कार्यालय पर्सा, औषधि व्यवस्था विभाग वीरगञ्ज, उपभोक्ता हित संरक्षण मञ्च पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधि टोलीले अनुगमन गर्दा म्याद गुज्रेको रिएजेन्ट रसायन फेला पारेको थियो ।
प्रसस्त प्रमाण फेला परेपछि तत्कालीन अवस्थामा प्रहरीले एक्सन तीव्र पारे पनि अहिले आर्थिक प्रलोभन र राजनीतिक प्रभावका कारण अनुसन्धानको नाममा उक्त मुद्दालाई कमजोर बनाउने प्रयास गरिरहेको सरोकारवालाले आरोप लगाएका छन् ।
२ महिना बित्तिसक्दा पनि प्रहरीले अनुसन्धानको नाममा मुद्दा प्रक्रियालाई थामथुम पार्ने काम गरेपछि मुद्दा मिलाउन ठुलै चलखेल हुन लागेको आशंका सरोकारवालाले गर्न थालेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक भारतीले नेसनल मेडिकल कलेजको मुद्दा अहिलेसम्म अनुसन्धानकै क्रममा रहेको बताए ।
आफू भर्खरै जिल्ला प्रहरी कार्यालय पर्सामा आएको र यो घटनाबारे आफूलाई विस्तृत जानकारी नरहेको बताउँदै डिएसपी भारतीले अनुसन्धानको क्रममा रहेको मुद्दाबारे अहिले नै केही भन्न नमिल्ने भन्दै पन्छिएका छन् ।
मानवीय स्वास्थ्यजस्तो विषयमा हेल्चेक्राइँ गरी मुद्दालाई कमजोर बनाई दोषीलाई उनमुक्ति दिँदा त्यसको परिणाम समाजमा गम्भीर हुने सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिक्रिया