विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न रोक

संस्थागत विद्यालयले नाम फेर्नुपर्ने

इलाम । इलामको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । चुलाचुलीले गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गराई शिक्षकलाई आआफ्नो पेसागत संघसंगठनमा आवद्ध भए तापनि कुनै पनि राजनीतिक दलको समितिमा बस्न, राजनीतिक पार्टीलाई भोट माग्न तथा राजनीतिक प्रचारप्रसारमा प्रतिबन्ध लगाएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

शिक्षकले निर्णय उल्लंघन गरेको पाइएमा संघीय शिक्षा ऐन २०२८ को दफा १६ (ङ) को उपदफा ५ (छ) बमोजिम कारबाही गर्ने निर्णय भएको अध्यक्ष केरुङले बताए । ‘धेरैजसो शिक्षक कुनै न कुनै राजनीतिक पार्टीमा आवद्ध हुने र खुला राजनीतिक गर्ने क्रम बढेपछि त्यस्ता शिक्षकलाई स्थानीय स्तरबाटै राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाउने कदम चालिएको हो’, अध्यक्ष केरुङले भने, ‘निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिनेछ, कुनै शिक्षकले निर्णयको उल्लंघन गरेको पाइएमा ऐन २०२८ को दफा १६ (ङ) को उपदफा ५ (छ) बमोजिम कारबाही गरिनेछ ।’

विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम रोक

यसैबीच चुलाचुली गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि तथा कार्यक्रमहरू गर्नसमेत प्रतिबन्ध लगाएको छ । चुलाचुलीले विद्यालयमा हुने गरेका राजनीतिक कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै विद्यालयभित्र यस्ता कार्यक्रम गर्न रोक लगाएको हो ।
चुलाचुलीले आफू मातहतका सबै विद्यालयहरूमा त्यस्तो कार्यक्रमहरू गर्न नपाउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष केरुङले बताए । ‘गाउँपालिकाभित्रका कुनै पनि शैक्षिक संस्थामा कुनै पनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रमहरू गर्न नपाउने व्यवस्था गरिएको छ’, गाउँपालिका अध्यक्ष केरुङले भने, ‘यसलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।’

संस्थागत विद्यालयले नाम फेर्नुपर्ने

यस्तै यहाँका संस्थागत विद्यालयको नाम फेर्नुपर्ने भएको छ । यसअघि अंग्रेजी तथा विदेशी भाषामा नामकरण भई सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयले अनिवार्य नेपाली भाषा (देवनागरी) मा नामकरण गर्नुपर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।

गाउँपालिका भित्रका सबै संस्थागत विद्यालयले आआफ्नो विद्यालयको नाम एक वर्षभित्रमा नेपालीमा नामकरण गरिसक्नुपर्ने समयसीमा तोकिएको उनले बताए । ‘पछिल्लो गाउँ कार्यपालिका बैठकले अंग्रेजीमा राखिएका संस्थागत विद्यालयको नाम नेपालीमा पुनः नामकरण गर्नुपर्ने निर्णय गरिएको छ’, अध्यक्ष केरुङले भने, ‘यसको कार्यान्वयनको प्रक्रिया तत्काल सुरु गरिनेछ, एक वर्षको म्याद दिएर कार्यान्वयन गरिसक्ने योजनामा छौँ ।’

यो निर्णयसँगै चुलाचुलीका सबै संस्थागत विद्यालयले शिक्षा नियमावली, २०५९ को नियम १५४ (१) बमोजिम नामकरण गर्नुपर्ने भएको हो । सो उपदफामा ‘समाज तथा राष्ट्रका लागि उल्लेखीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट नेपालीपन झल्कनेगरी विद्यालयको नामकरण गर्न सकिनेछ’ भन्ने व्यवस्था उल्लेख छ ।

चुलाचुली गाउँपालिकाले शिक्षा ऐन तथा नियमावलीमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न लागिएको शिक्षा शाखा प्रमुख राम मिश्रले बताए । ‘शिक्षा ऐन तथा नियमावलीमा नेपालीपन झल्किनेगरी विद्यालयको नाम नामकरण गर्नुपर्ने व्यवस्था रहेको छ’, मिश्रले भने, ‘चुलाचुली गाउँपालिकाले सोही व्यवस्था कार्यान्वयन गर्न लागेको हो ।’

अधिकांश सामुदायिक विद्यालयको नाम नेपाली भाषामा नै हुने गरेको भए पनि संस्थागत विद्यालयको नाम भने अंग्रेजीमा हुने गरेका छन् । चुलाचुली गाउँपालिकामा २१ सामुदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । संस्थागतमध्ये २ वटा माध्यमिक तहको र ५ वटा आधारभूत तहको रहेको शिक्षा शाखा प्रमुख मिश्रले जानकारी दिए । संस्थागत सबै विद्यालयले आफ्नो नाम परिवर्तन गर्नुपर्ने भएको छ ।

नेपालको संविधानको धारा ७ को उपदफा (१) मा भएको देवनागरी लिपीमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने उल्लेख छ । इलामका १० वटा स्थानीय तहमध्ये चुलाचुली गाउँपालिकाले पहिलोपटक यस्तो निर्णय गर्दै कार्यान्वयनमा ल्याउन लागेको हो ।

प्रतिक्रिया