बकैया नदीमा निर्माण भएको झुलुंगे पुल हेर्न स्थानीयहरुको भीड

रौतहट । रौतहटको गौर नगरपालिका– २ बानेश्वरनाथ महादेव मन्दिर नजिक लाल बकैया नदीमा निर्माण भएको सबैभन्दा लामो झुलुंगे पुल अवलोकन गर्न दिनहु स्थानीयको भीड लाग्ने गरेको छ । मुलुककै दोस्रो लामो उक्त झुलुंगे पुल गौर नगरपालिकाका प्रमुख शम्भु साह कानुको विशेष सक्रियतामा निर्माण भई गत वैशाख महिनाको पहिलो हप्तादेखि अवागमन सुचारु भएको हो ।

नेपाल र भारतको सीमाना नजिक २५९ मिटर लामो झुलुंगे पुल बनेपछि लाल बकैया नदी वारीपारी गर्न स्थानीयलाई सहज भएको छ । पूर्वमा गौर नगरपालिका र पश्चिममा इशनाथ नगरपालिका जोड्ने गरी बनाइएको सो झुलुंगे पुलमा अहिले स्थानीयहरुको घुमघाम गर्न बिहान र बेलुकीको समयमा भीड लाग्ने गरेको हो ।

बिहानको सूर्योदय र बेलुकीको सूर्यस्तको दृश्य पुलबाट हेर्नका लागि स्थानीयहरू जाने गरेका छन् । बिहान घुम्न जाने सर्वसाधारणले पुरानो शिव मन्दिरको रुपमा रहेको बानेश्वरनाथ महादेवको दर्शन गर्ने मौका पाउने तथा झुलुंगे पुलमा चढेर आनन्दको अनुभवसमेत गर्ने गरेका छन् ।

प्रशिद्ध धार्मिक स्थलको रुपमा रहेको बानेश्वरनाथ मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकसित गर्ने उदेश्य लिएर झुलुंगे पुलको निर्माण गरिएको गौर नगरपालिका प्रमुख शम्भु साहले बताए । वर्षाको मौसममा लाल बकैया नदीमा बाढी आएपछि सर्वसाधारणलाई पारी जान निकै समस्याको सामना गर्नुपर्ने भएकाले समयमा पुल निर्माण भएको र अब त्यस्तो अप्ठयारोको सामना गर्ने समस्याको अन्त्य भएको उनले बताए ।

मेयर साहका अनुसार गौर नगरपालिका जिल्लाकै पुरानो र जेठो नगरपालिकाको रुपमा रहेकाले विकास निर्माणका सम्भावना प्रचुर रहेको छ । सो नगरपालिका भौतिक, धार्मिक रुपमा विकास गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको उहाले बताए ।

नेपाल सरकारले प्रत्येक वर्ष कटौती गर्दै आएको कारणले विकास निर्माणको कार्यमा प्रत्यक्ष रुपमा असर परिरहेको भए पनि आफ्नो लक्ष्य अनुरुपको कार्यलाई निरन्तरता दिएको प्रमुख साहले उल्लेख गरे । गौर नगरपालिका भित्र जिल्लाको पहिलो कोल्डस्टोर, घण्टाघरको निर्माण कार्य जारी रहेको बताउँदै मेयर साहले नगरभित्र रहेका धार्मिक स्थल, पोखरी, तालको संरक्षण प्रवर्द्धन गर्ने कार्य पनि प्राथमिकतामा रहेको जनाए ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुरले प्रदेश सरकारले समयमा रकम नपठाउँदा योजना कार्यान्वयनमा जटिलता उत्पन्न भएको बताए । पुस महिनासम्ममा आउनुपर्ने रकम अहिलेसम्म प्रदेश सरकारले निकासा नदिँदा कतिपय योजनाहरू कार्यान्वयन गर्न नसकिएको गुनासो उनको रहेको छ ।

प्रतिक्रिया