पाँचथर । पद्म सुन्दर लावती प्रतिष्ठानले फिदिम नगरपालिका–२ ओदीनमा रहेको आवासीय विद्यालयलाई खाद्यान्न प्रदान गरेको छ । प्रतिष्ठानले आदर्श आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका लाभान्वित हुनेगरि आइतबार खाद्यान्न वितरण गरेको हो ।
पटक पटक मन्त्री भएर पाँचथरको विकासमा धेरै योगदान पुर्याएका स्वार्गीय लावती विकासवादी नेताको रुपमा परिचित छन् । लावतीको ९औं स्मृति दिवस अवसरमा १५ हजार ५ सयमूल्य बराबरको चामल, नुत, तेल, लगायत खाद्यान्न वितरण गरिएको छ ।
प्रतिष्ठान समिति अध्यक्ष विजयवोध लावती, सचिव लोकेन्द्र आले मगर सल्लाहकारद्वय सगुन सुन्दर लावती, होमकुमार लावती लगायत उपस्थित भएर खाद्यान्न प्रदान गरे ।
यसैक्रममा होमकुमारले दुई हजार रुपैयाँ नगद समेत आवासीय विद्यालयलाई सहयोग गरे । यसै शैक्षिक वर्षबाट सुरु गरिएको यहाँकोआवासिय विद्यार्थीका लागि अन्य दाताहरुबाट पनि खाद्यका साथै नगद, जिन्सी सहयोग प्राप्त भइरहेको पाइएको छ ।
प्राप्त सहयोगले असहाय नानीहरुको आवासका लागि धेरै राहत पुगीरहेको आवासीय कक्षा व्यवस्थापन समिति संयोजक गंगा ईंवा लिम्बूले बताइन् । संयोजक गंगाले फेरी पनि यस्तै सहयोगको विद्यालयले अपेक्षा गरिरहेको बताइन् ।
यहाँको आवसीय कक्षामा आमा बाबुविहीन तथा अत्यन्तै कमजोर आर्थिक अवस्थाका २० जना असहाय विद्यार्थी अध्ययनरत छन् । तत्कालिन अवस्थामा गाँस, बाँस र कपासको समस्या झेल्नु परिरहेको छ । विद्यालयसंग पर्याप्त भवन अभावले भाडाको घरमा आवासीय कक्षा सञ्चालन गर्नु परिरहेको अवस्था रहेकोले यसमा सहयोग पुर्याउन संयोजक गंगाले सम्बन्धित निकाय र सहयोगी मनहरुसंग सहयोगको अपिल गरेकी छन् ।
केहि समय अघि विद्यालयको पाँचथरका प्रदेश ख सांसद, कोशी प्रदेशका पूर्व अर्थ मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले अवलोकन गरेका थिए । यसक्रममा सांसद आङ्बोले विद्यालयको व्यवस्थित भवन निर्माणमा सहयोग गर्न सघाउने बचन दिएका थिए ।
प्रतिक्रिया