रौतहट । सदरमुकाम गौरको एक हार्डवेयर पसलमा आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ । गौर–५ हनुमानचोकमा रहेको महतो हार्डवेयरमा शुक्रबार राति भएको आगलागी १५ लाखभन्दा बढीको सामान जलेर नष्ट भएको हो ।
महतो हार्डवेयर गोदाममा शुक्रबार राति पौने १२ बजे आगलागी हुँदा गोदाममा रहेको रंग, पेन्ट बनाउने मेसिन २ थान, ल्यापटप २ थान, मोटर १६ थान, सिपिभिसी फिटिङ, पिभिसी फिटिङ, पल्मबिङका सामग्री, सयौँ थान रङका बाल्टिन लगायतको सामान जलेर नष्ट भएको छ ।
हार्डवेयरको उक्त गोदामसँगै रहेको अर्को गोदाम, हार्डवेयर पसल र रामबाबु मोटरसाइकल वर्कसपमा समेत आंशिक क्षति पुगेको छ ।
गौर नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युत् सर्टसर्किट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले आगलागीबाट १५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको बताइन् । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिएकी छन् ।
प्रतिक्रिया