मधेस ब्युरो । अत्यधिक गर्मी र सुक्खाका कारण किसानहरू ब्याडमा धानको बिउ छर्न ब्यस्त देखिएका छन् । धानको बेर्ना छर्न निकै ढिलो भइसकेको छ । समयमा पानी परेको भए खेतमा ब्याडमा धानको बेर्ना उम्रिसकेको हुन्थ्यो तर खडेरीले गर्दा धानको बेर्ना उमार्ने खेत अहिलेसम्म पुरै सुक्खा छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–३ मेवाका राम ईश्वर पण्डित ब्याडमा बिउ छर्दै भन्छन्, ‘बिउ न छरुँ ढिलो भइसक्यो, छरुँ खेतमा अलिकति पनि चिस्यान छैन ।’ यहाँका किसानको यो साझा समस्या हो ।
छिटो फल्ने गदर जातको धानको बेर्ना प्रायः उम्रिसकेको छ । छिटो फल्ने धान प्रायः असारमै रोपिन्छ । साउन महिनामा रोपिने धानको लागि पनि बिउ छर्न निकै ढिलो भइसकेको छ । मौसम अनुकूल नहुँदा धेरै किसानलाई छटपटी भइरहेको छ । अधिकांश किसानले छटपटिँदै सुक्खा खेतमै धानको बिउ छर्न थालेका छन् । कतिपय किसानले ब्याडमा कतैबाट पानी पटाएर बिउ छरिरहेका छन् । कतिपयले चाहिँ बिउ छरेर नउम्रिँदा ब्याडमा पानी पटाइरहेका छन् । सुक्खाले गर्दा धानको बेर्ना उमार्न किसानलाई निकै समस्या भएको किसानहरू बताउँछन् ।
यस्तै बारा जिल्लाको कतिपय खेतमा विद्युत् पुगिसकेको छ । खेतमा विद्युत् पुगिसकेको सबै किसानले ढिलो फल्ने जातको धानको बिउ छरिसकेका छन् । कतिपय किसानको ब्याडमा धानको बेर्ना लहलहाइरहेको छ तर नहरको सिँचाइ सुविधा पुगेको वा कुनै पनि सिँचाइ सुविधा नपुगेको ठाउँका किसानलाई भने निकै सकस भएको छ । बारा, रौतहट, सर्लाही, महोत्तरीसम्मका किसानले अहिले बेर्ना छरिसक्ने समय थियो । समयमा पानी परेको भए बेर्नामा एकपटक मलखाद छर्ने बेला भइसकेको हुन्थ्यो तर अहिलेसम्म किसान दिनेश पण्डित भन्छन्, ‘किसानले धानखेती गर्नको लागि बिउ छर्ने समयचाहिँ अत्यन्त प्रतिकूल भएको छ ।
अहिले धानको बिउ छरिरहेको छु तर निकै ढिलो भइसकेको छ ।’
असारको १५ गते रोपाइँ दिवससम्म धानको बेर्ना कस्तो होला ? अर्का किसान अजेन्द्र पण्डित आफैँलाई प्रश्न गर्छन् । अहिले बल्ल धानको बिउ ब्याडमा धमाधम छरिरहेका किसानहरूलाई मौसमप्रति खासै भरोसा नभएको बताउँछन् । एक हप्ता पहिले एकपटक राम्ररी वर्षा भइदिएको भए किसानहरूको मन धानको बेर्ना देखेर हरियो हुन्थ्यो तर अहिले पनि मन अमिलो छ । सुक्खाले गर्दा किसानको मन पनि सुक्खा भएको पण्डित बताउँछन् ।
समाचारहरूमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने बताइरहेको सुनेर किसानहरू कतै एकैपटक ठुलो बाढी आउने पो हो कि भन्ने चिन्ताले ग्रस्त पनि देखिन्छन् । अहिले पानी नपरेर सुक्खा मौसम रहेको तर एकैचौटि धेरै पानी परेर फेरि बालीलाई नोक्सान पु¥याउने हो कि भन्ने चिन्ता किसानलाई रहेको पंडित बताउँछन् ।
सुक्खाको समस्या झेल्दै तथा डिएपी मलको अभावमा पनि किसानहरूले अहिले अन्तिम समयमा धमाधम बिउ छरिरहेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया