विगत जसरी सरकार सञ्चालन नगर्न पूर्वराज्यमन्त्री अन्सारीको आग्रह

जनकपुरधाम । प्रदेशसभा सदस्य एवं पूर्वराज्यमन्त्री रहवर अन्सारीले वर्तमान सरकारलाई विगतको सरकारले गरेको कमीकमजोरी दोहरिने नगरी काम गर्न सुझाव दिएका छन् । प्रदेशसभामा बोल्दै सांसद अन्सारीले निर्वतमान मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा बुलेट ट्रेनजस्तै विकासको लहर ल्याउने भनेजस्तै नगर्ने बताउँदै उनले भने, ‘मुख्यमन्त्री ज्यू हिरोहोन्डा नै चलाइदिन आग्रह गर्छु तर कछुवाको गतिमा नगइदिनुहोला ।’

नयाँ सरकार गठन भएपछि बसेको पहिलो प्रदेशसभाको बैठकमा निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रोश पोख्दै उथलपुथल गर्ने प्रधानमन्त्रीको कारण राजनीतिक अस्थिरताले मलजल पाएको लगाएको आरोपप्रति अन्सारीले प्रधानमन्त्रीले बोलेको उथलपुथलसम्बन्धी वक्तव्यको बचाउ गरेका थिए ।

‘आज जे जति परिवर्तन भएको छ त्यो पुष्पकमल दाहालले गरेको उथलपुथलकै प्रतिफल हो’, अन्सारीले संसद्मा भने, ‘म प्रदेशसभा सदस्य भएको छु त्यहीँ उथलपुथलले यो सम्भव भएको हो । आज मधेस प्रदेश सरकारमा दलित समुदायले मन्त्री पाएको छ त्यहीँ उथलपुथलले हो ।’ उनले यस्ता अझै धेरै उथलपुथल भइरहोस् भनेर आफ्नो चाहना रहेको बताए ।

अर्को प्रसंगमा अन्सारीले निवर्तमान मुख्यमन्त्री यादव र उनी प्रतिनिधित्व गर्ने राजनीतिक दल जसपा नेपाललाई प्रधानमन्त्री दाहालले होस्टलमा राखिदिएको टिप्पणी गरे ।

प्रतिक्रिया