महोत्तरी । जलेश्वर नगरपालिकामा रहेको प्रादेशिक अस्पताल जलेश्वरमा हर्निया र एपेण्डिक्सको शल्यक्रिया सुरु भएको छ । लामो समयदेखि चिकित्सक अभावका कारण बन्दको अवस्थमा रहेको अस्पतालमा चिकित्सकको व्यवस्था भएसँगै अस्पतालमा नयाँ नयाँ रोकगको सफल शल्यक्रिया सुरु गरिएको हो ।
जलेश्वर वडानं–३ का २४ वर्षिय शिवम पाण्डेय विगत एकवर्षदेखि हर्नियाबाट पीडित थिए । सुरुमा हाइड्रोसिल भएको बुझेका पाण्डेयले असह्रय पीडा हुन थालेपछि भारतको दरभंगा गएर चिकित्सकलाई देखाएका थिए । चिकित्सकले चेकजाँच गरेपछि हर्निया भएको र यसका लागि शल्यक्रिया गर्न सुझाव दिएका थिए ।
भारतीय चिकित्सकले शल्यक्रियाको लागि बिस हजार भारतीय रुपैयाँ र औषधीको थप लाग्ने खर्च लाग्ने जानकारी दिएका थिए । यसका साथै शल्यक्रियापछि करिब एकहप्तासम्म अस्पतालमा बस्नुपर्ने जानकारी गराएपछि रकम अभावले उनी घर फर्केका थिए ।
तर, चार महिना अगाडी आफ्नै ठाउँको अस्पतालमा हर्नियाको शल्यक्रिया हुने जानकारी पाएपछि उनले सहज रुपमा सस्तो दरमै उपचार गराएर अहिले खुशी भएका छन् । घर पायक उपचार पाएपछि समयको पनि वचत भएको तथा आर्थिक रुपमा समेत कम खर्च भएको पाण्डेयले बताए ।
विगतमा यसक्षेत्रका स्थानीयबासी हाइड्रोसिल, हर्निया, भगन्दर, एपेण्डिक्स, पाइल्स, फिस्टुला जस्ता रोग लागेमा उपचारका लागि भारतीय अस्पताल वा जनकपुरधाम पुग्नुपर्ने वाध्यता थियो । तर पाँच महिनादेखि प्रादेशिक अस्पताल जलेश्वरमा नै यी उपचारहरु हुन थालेपछि यसक्षेत्रका वासिन्दालाई उपचारमा सहज भएको छ ।
पुस महिनादेखि प्रादेशिक अस्पताल जलेश्वरमा करार दरबन्दीमा आएका कन्सल्टेन्ट सर्जन डा.गणी आलमले माइनर शल्यक्रियादेखि लिएर हर्निया, एपेण्डिक्सलगायतका शल्यक्रिया गर्न थाले पछि हरेक हप्ता चारदेखि पाँचजनाको शल्यक्रिया हुदै आएको छ ।
अहिले धेरै शल्यक्रिया माइनर देखिएको बताउदै डा.आलमले यस अस्पतालमा आइसियु.सेवा तथा टेण्ड स्टाफ भयो भने पित्त थैलीको अपरेशन लगायतका शल्यक्रियाका साथसाथै जटिल खालको शल्यक्रिया समेत गर्न सकिने बताए । जटिल खालका शल्यक्रिया गर्दा आइसियुको आवश्यकता पर्न सक्छ । तर यस अस्पतालमा सो सेवा उपलब्ध नभएकोले जटिल शल्यक्रियाको लागि बिरामीहरुलाई बाहिर पठाउनुपर्ने वाध्यता रहेको डा.आलमले बताए ।
पुसदेखि सेवा सुरु गरेका डा.आलमले हर्निया, एपेण्डिक्स, पाइल्सलगायतका समस्या लिएर उपचारमा आउने बिरामीहरुको अवस्था हेरेर माइनर समस्या भयो भने अस्पतालमै शल्यक्रिया गर्ने गरिएको बताउदै अस्पतालमा आइसियु, तालिम प्राप्त जनशक्ति, एनेस्थेसिया, ल्याप्रोस्कोपी मेसिनलगायतका सेवा उपलब्ध भए जटिल खालका शल्यक्रिया समेत गर्न सकिनेमा आफू आशावादी रहेको बताए ।
यसक्षेत्रका अधिकांश व्यक्ति पाइल्स, फिस्टुला, हर्निया, एपेण्डिक्सहरुलाई रोगको रुपमा नलिने गरेको र पछि समस्या हुन थालेपछि मात्रै अस्पताल पुग्ने गरेको बताउदै डा.आलमले समयमै उपचार गराए कम खर्चमा सहज रुपमा उपचार हुने जानकारी दिए ।
प्रतिक्रिया