मधेस ब्युरो । रौतहटको मध्यभाग गरुडामा अवस्थित मध्यरौतहट बहुमुखी क्याम्पसले वार्षिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । हरेक वर्ष आयोजन हुने स्वागत तथा बिदाइ कार्यक्रम क्याम्पसले भव्यतापूर्वक सम्पन्न गरेको हो ।
क्याम्पस प्रमुख प्रेमलाल साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनि प्रसाद कलवारले क्याम्पसले शिक्षाको क्षेत्रमा गरिरहेको प्रगतिको प्रशंसा गरे । जिल्लाको मध्यभागमा अवस्थित क्याम्पसले विद्यार्थीको विश्वास जित्न सफल भएको र गुणस्तरमा सुधार गर्दै गएको बताएका छन् ।
वणिज्यतर्फ स्नातकोत्तर तहसम्म सञ्चालित क्याम्पसमा स्नातक तहमा बिएड, बिए र वाणिज्य संकाय पनि सञ्चालनमा रहेको छ । आफ्नै भवनमा कक्षा सञ्चालन गरिरहेको क्याम्पसमा हजारौँ विद्यार्थी अध्ययनरत छन् । नियमित कक्षा सञ्चालन हुने क्याम्पसको रुपमा परिचित क्याम्पसको वार्षिक कार्यक्रममा स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरिएको छ । मधेस प्रदेशको चिनोको रुपमा मानिने गमछा ओढाएर सम्मान गर्दै विद्यार्थीलाई क्याम्पसले मायाको चिनो पनि प्रदान गरेको छ । यसै महिनाको अन्तिमदेखि स्नातक चौथो वर्षको अन्तिम परीक्षा हुँदैछ । परीक्षाको तयारीमा रहेको विद्यार्थीलाई वक्ताहरुले सफलता र प्रगतिको कामना गरेका छन् ।
यसै गरी क्याम्पसको प्रथम वर्षमा अध्ययनरत विद्यार्थीलाई औपचारिक रुपमा स्वागत पनि गरिएको छ । क्याम्पसका प्राध्यापक अनिलकुमार निधिले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सबैलाई सञ्चालक समिति सदस्य तथा प्राध्यापक प्रभु राउत पटेलले स्वागत गरेका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष लछुमन साहले कार्यक्रमका लागि विद्यार्थी, प्राध्यापक तथा प्रशासनतर्फका कर्मचारीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
क्याम्पसका प्राध्यापकहरु, कर्मचारी, सञ्चालक समितिका सदस्य तथा पदाधिकारीसमेतको सहभागिता रहेको कार्यक्रममा विभिन्न छात्रछात्राहरुले गायन, नृत्यका साथै आफ्नो प्रतिभाको प्रदर्शन पनि गरेका थिए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया