ओम शान्ति पिस पार्क बन्न सक्छ प्रदेशकै नमुना

क्षितिज विश्वकर्मा

सर्लाही । लटरम्म फलेका विभिन्न जातका आँप, विभिन्न प्रजातिका रंगीविरंगी फूलहरू, आकर्षक बोटबिरुवा, मनमोहक सजावट, चराचुरुंगीको चिरबिर चिरबिर आवाज अनी उत्प्रेरक भनाइहरू । यो दृश्य हो ‘ओम शान्ति पिस पार्क’ लालबन्दीको ।

उद्यान अर्थात पार्क भनेको त्यस्तो भूमि हो, जहाँ मनोरञ्जन वा आराम गर्न रुख, फलफूल वा विभिन्न प्रजातिका वनस्पति रोपण गरिएको हुन्छ । तीव्र सहरीकरण, आधुनिकता र स्वतन्त्रताले गर्दा उद्यानको आवश्यकता बढ्दै र औचित्य थप हुँदै गएको छ । अब उद्यान केवल मनोरञ्जनको लागि मात्र होइन, पर्याप्त अक्सिजन प्राप्त गर्ने हिसाबले पनि अत्यावश्यक हुँदै छ । आजभोलि घरघरमा ससाना बगैँचा बनाउन थालिएको छ । कार्यालय, होटल, अस्पताल विद्यालय, मन्दिर सबैतिर बगैँचा राख्ने प्रक्रिया सुरु भएको छ । विवाह, पूजाआजा, पिकनिक वा यस्तै कार्यक्रम गर्न पार्क नै रोज्न थालिएको छ । अर्थात् समाजको अभिन्न अंग बनेका छन् पार्कहरू ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–५ मा रहेको निर्माणाधिन पिस पार्कमा पनि हरेक शनिबार करिब ५०० को हाराहारीमा मानिसहरू पुग्ने गर्दछन् । विशेष गरी युवायुवतिको आकर्षणको केन्द्र बनेको छ पिस पार्क । बजारको कोलाहलभन्दा अलिकति पर, पूर्वपश्चिम राजमार्गबाट थोरै दक्षिणतर्फ अवस्थित पिसपार्क थकान मेटाउन, तनाव घटाउन, शीतल ताप्न र आत्मिक शान्ति प्राप्तिको उद्देश्यसहित निर्माण भइरहेको छ ।


पार्कमा पीपल, तेजपात, आँप, कटहर, लिची, पाम ट्री, शिरिस, सल्लो, अमला, अशोक, बोटल ब्रस, २ प्रजातिको स्वामि, बंगाली रंगीन बर, ह्याङ्गिङ पाम, खयर, जामुन लगायतका बोट बिरुवा तथा फलफूल रहेका छन । बाल उद्यान, सभाहल, मेडिटेसन कक्ष, चौतारी, पोखरी लगायतका संरचना निर्माण भइरहेको पार्क अहिले साताको एक दिन शनिबार मात्रै खुल्ला हुने गर्दछ ।

पार्क सभ्य समाजका लागि अत्याधुनिक संरचना हुन् । मानिसहरूबीचमा संवाद, भेटघाट, छलफल, अन्तरक्रिया आदि हुने थलो पार्क हुन् । बच्चाबच्चीलाई घुमाउने, रमाउने र नयाँ कुरा सिकाउने थलो पनि पार्क हो । बुढाबुढीलाई समय व्यतित गर्ने, शारीरिक व्यायाम गर्ने, मनोरञ्जन गर्ने केन्द्र र विनाशकारी भूकम्पजस्ता कुनै खास समस्या पर्दा चाहिने खुला ठाउँको रूपमा प्रयोगमा ल्याउने सकिने भनेको नै पार्क हो ।

तीव्र रूपमा सहरीकरण भइरहेको लालबन्दी नगरमा सडक बिस्तार, खेल मैदान, खानेपानी, अन्य भौतिक संरचनाहरू बनिरहँदा एउटा सुस्ताउने ठाउँको समेत आवश्यकता पर्ने गर्दछ र त्यसैको परिपूर्तिस्वरूप पार्कको अवधारण बनेको बताउँछन् ब्रम्हाकुमारी राज योग सेवा केन्द्र लालबन्दीका ब्रम्हाकुमार नारायण भाइ । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र जनकपुरअन्तर्गत सर्लाहीको लालबन्दीमा रहेको सेवा केन्द्रले यो पार्क निर्माण गरिरहेको छ ।

हालसम्म करिव १ करोड खर्च भइसकेको पार्क निर्माणमा केन्द्र, प्रदेश तथा स्थानीय सरकारले ध्यान पुर्याउन सकेको छैन । जसको फलस्वरूप करिव ८ वर्षमा पनि पार्क पूर्ण निर्माण भएको छैन । दान दातव्यबाट सञ्चालन हुँदै आएको ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र लालबन्दीले पार्कको बजेट इस्टिमेट तिनै तहको सरकारसमक्ष प्रस्तुत गर्दै आवश्यक आर्थीक सहयोग गरिदिन आग्रह गर्दै आएको छ । तर, कुनै पनि सरकारले यथोचित ध्यान भने दिएका छैनन् ।


साढे ५ बिघा क्षेत्रफलमा फैलिएको पार्क पूर्ण निर्माण भए मधेस प्रदेशकै नमुना पार्क हुनेमा दुई मत छैन । निर्माणाधिन ओम शान्ति पिस पार्कको सम्पूर्ण काम सम्पन्न गर्न अब करिब २ करोड खर्च लाग्ने ब्रम्हाकुमार नारायण भाइ बताउँछन् । लालबन्दी नगरपालिकाको वडा–५ मा पर्ने पार्कलाई वडालेसमेत बेवास्ताजस्तै गरेको छ भने नगरले समेत ध्यान दिएको छैन । वडामा बजेट माग गर्दा होस् वा वडामार्फत कुनै सामान्य काम गर्दा होस्, पहिले नै १० प्रतिशत कमिसन रकम सुरक्षाको ग्यारेन्टी नभएसम्म काम हुन नसक्ने अवस्था रहेको संस्थाले जनाएको छ ।

वडा–५ का वडाध्यक्ष मीनप्रसाद ढुंगेलले भने आफूहरूको विशेष पहलमा नै पार्कका लागि जग्गा उपलब्ध गराउन सम्भव भएको बताएका छन् । बेला बेलामा आवश्यक सहयोग वडा कार्यालयले गर्दै आएको र आगामि वर्षहरूमा पनि बजेट विनियोजन गरेर पार्क निर्माणमा सहयोग गरिने उनले जानकारी दिए । वडाध्यक्ष ढुंगेलले चालु आर्थिक वर्षमा पार्कका लागि १ लाख रुपैयाँ छुट्याइएको र काम पनि भइसकेको प्रस्ट्याए ।

लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी नेपाल–भारत सीमा क्षेत्र त्रिभुवन नगरदेखि सिन्धुलीको दुम्जा जोड्ने सडक निर्माण, रिङरोड निर्माण, लाबलन्दी नगरभित्रका उत्तरी क्षेत्रमा भ्यु टावर, मन्दिर, गुम्बा निर्माण गर्दै उत्तर र दक्षिणको संस्कृति साटासाट गर्ने, उत्तरको उत्पादन दक्षिण र दक्षिणको समान उत्तर पुर्याउने बताउँछन् । त्यसो गर्दा लालबन्दीका विकट वडा–१३, १४ र १५ लाई पर्यटकीय क्षेत्रको रूपमा विकाश गर्दै आर्थिक उपार्जनको माध्यम बनाउन सकिने उनको धारणा छ । भने केही हदसम्म त्यो काम भौतिक रूपमै सुरुआतसमेत भएका छन् ।

ससर्ती हेर्दा सबैलाई पायक पर्ने, रमणीय र प्रदेशकै नमुना पार्क बन्न सक्ने ओम शान्ति पिस पार्कमा मेयर अधिकारीको ध्यान भने पुग्न सकेको छैन । त्यसको कारण गैरनाफामुलक संस्थाले निर्माण गर्दै गरेको पार्क, त्यसमा पनि निःशुल्क प्रवेश हुने भएकै कारण पार्कलाई मेयरले बेवास्ता गरेका हुन् । यता मेयर अधिकारीले आफूले पार्कको अवधारण स्पस्ट रूपमा बुझिनसकेको प्रतिक्रिया दिएका छन् । उनले नगरपालिकासँगको साझेदारीमा पार्क निर्माणको चाहना हो कि, वा अगाडि ओम शान्ति उभिएर कामचाहिँ नगरपालिकाले गर्ने भनिएको हो आफूले नबुझेको बताए ।

पार्कलाई व्यवस्थित बनाएर प्रदेशकै नमुना पार्क बनाउन सकिने भए पनि ओम शान्तिसँग मिलेर काम गर्न अलि असहज हुने मेयर अधिकारीको बुझाइ छ । उनीहरूसँग खानपान लगायतका केही कुराहरू नै मेल नखाने भएकोले पार्कमा सहयात्रा अलि अप्ठ्यारो हो कि भन्ने आफूलाई लागेको उनले बताए ।

हाल शनिबार मात्रै खुल्ने पिस पार्कको प्रवेशद्वार अगाडि ठेलामा व्यापार गर्दै आएकी सावित्रा गौतमले बिहानदेखि बेलुकीसम्म करिब ५ हजारको व्यापार गर्छन् । गौतमले पानी, चाउचाउ, चटपटे, पानीपुरी लगायतका अन्य फास्टफुडहरू बेच्छन् । उनी मात्रै होइनसँगै व्यापार गर्ने अन्यले पनि सोही हाराहारीको समान बेच्छन् । गौतम भन्छन्, ‘भएनभन्दा पनि ३५ सय ४ हजारको ब्यापार हुन्छ । झनै केही पर्व विशेष भो भने त पार्क घुम्न आउनेको भिड बाक्लो हुन्छ र ब्यापार पनि त्यहि किसिमको हुन्छ ।’

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र नारायणघाटबाट सेवा पुर्याउन लालबन्दी सेवा केन्द्र आएकी प्रभा दिदीले यस क्षेत्रमा नयाँ केही गरौँ, जसबाट यहाँका मानिसलाई पनि फाइदा होस् भन्ने किसिमबाट पार्कको अवधारण ल्याएका ब्रम्हाकुमार नारायण भाइले जानकारी दिए । पार्कको कम्पाउन्डभित्रै वरिपरि मर्निङ वाक गर्ने बाटो बनाउने, आकर्षक कटिङ ढुंगाहरू बिछ्याउने, बीचबीचमा ध्यान कक्ष पिरामिडहरू बनाउने, हिमालजस्ता दृश्यहरू बनाउने, अधुरो रहेको पोखरीलाई पानीको स्रोत, पानीको फोहोरासहित व्यवस्थित गर्ने, साँझको समयमा म्युजिकल फाउन्टेन बनाएर साँझमा पनि पार्क खोल्ने, अत्याधुनिक समानसहितको चिल्ड्रेन पार्क निर्माण गर्ने लगायतका अन्य योजनाहरू ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र लालबन्दीको रहेको छ । त्यसैगरी वृद्धवृद्धाहरूका लागि बस्ने ठाउँ, प्रत्येक रुखहरूमा चौतारी, पार्कको चारै कुनामा सुस्ताउने कटेज निर्माण गर्ने, एउटा सानो ओभरहेड पानीट्यांकी निर्माण गरेर पाइपलाइनमार्फत बिरुवाहरूमा पानी पु¥याउने, शौचालयहरूमा पानी पुर्याउने, सबैतिर विद्युतीकरण गरेर बत्ती बाल्ने लगायतका कामहरू गर्न बाँकी रहेको छ ।

पार्कमा खाने पानीको धारा जडान गर्नका लागि पनि निकै समस्या झेल्नुपरेको र लालबन्दी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा तारानाथ लुइँटेल आएपछि उनको विशेष जोडबलमा मात्रै धारा जडान सम्भव भएको संस्थाले जनाएको छ । अहिले पार्कभित्र शौचालय भए पनि त्यो पानीको अभावका कारण प्रयोगविहीन अवस्थामा छ । शौचालय लगायतका कतिपय संरचना त उचित प्रयोगमा नआउँदै बिग्रिन र भत्किन थालिसके । भने बच्चाहरूका खेल्ने समानसमेत जीर्ण बनिसकेका छन् ।

आर्थिक आम्दानीको स्रोत केही नभएको र कहीँ कतैबाट सहयोगसमेत नपाएकोले पार्कमा रक्षक, मालि, गेटपाले लगायतका जनशक्तिको व्यवस्थापनमा समस्या रहेको छ । प्रवेश निःशुल्क रहेको पार्कको रेखदेख र रक्षामा समेत चुनौती देखिएको छ । निर्माणाधीन पार्कमा जथाभावी बोटबिरुवा भाँच्ने, फुल टिपेर फ्याँक्ने, प्रवेश निषेध ठाउँमा जाने लगायतका उच्छृंखल गतिविधि गर्नेहरूको निगरानी र सचेतनाका लागिसमेत समस्या पर्ने गरेको छ ।


विशेषगरी भगवान् शिवको ज्ञान बाँड्ने यस संस्थाको मुख्यालय माउन्ट आबू, राजस्थान भारतमा रहेको छ । जात, पात, धर्म, भाषा, संस्कृति र धनी, गरिबको भेदभाव नगरिने ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले ७ दिनको मेडिटेसन कोर्ष निःशुल्क प्रदान गर्दै सात्विक भोजन, खान पान आदिलाई विशेष जोड दिने गर्दछ ।

प्रतिक्रिया