साधारण मन भएको मानिस वा भोको मानिस जब नयाँ मदिरा सेवन गर्दछ अथवा जो अजीर्ण हुँदा अत्यधिक मदिरा सेवन गर्दछ उसको रस धातु (खानपिन पचेपछि बन्ने रस) दूषित हुन पुग्दछ । यसपछि यो रस–धातु रुखो र तिक्खर हुनाले शरीर भित्रको वायु तथा उगर्मीगर्ने वस्तु (मद्य) पचेका कारण पित्त सँगसँगै उत्तेजित भएर आमाशयमा जान्छ । अनि दूषित भएको कफले गर्दा यी दोष ठूला नसा र त्यसपछि लुक्दै मुटुुको मूल नसामा पुग्दछ । यसपछि शरीरलाई अत्यन्त दुःख हुन्छ ।
परिभाषा र लक्षणः
मद भनेको नसा र अत्यय भनेको रोग हो । नसा (मद) ले लाग्ने रोगलाई मदात्यय भनिन्छ । काश्यप संहिताका अनुसार मदात्यय भनेको, ‘बेहोस हुने, ननिदाउने (Insomnia), बान्ता हुने, आमासँग द्वेष गर्ने, नरत्तिने, भ्रममा पर्ने, डराउने, मलमूत्र आदि जोडले गर्ने र तिर्खाइरहने बालकलाई मदात्यय भएको छ भनी जान्नु पर्दछ ।’
व्याख्या : केही खाएर वा पिएर मद वा नसा बढी लागेपछि यो रोग लाग्दछ । यो रोग लाग्न मदिरा नै अत्यधिक सेवन गर्नुपर्दछ भन्ने हुँदैन । शरीरका अत्यधिक भित्री अंगमा फैलिएको शक्ति आ–आफ्ना काम छाडेर खाएको वा पिएको कुरा पचाउनमै केन्द्रित वा एकत्रित हुने अवस्था आयो भने त्यसलाई मदात्यय भनिन्छ । अलि बढी खाना खाएका बेलामा खानासाथ झुम्म हुन्छ भने पनि त्यो मदात्यय हो । हामी यसलाई भातेनिन्द्रा लाग्यो भन्ने गर्दछौँ । यो रोगले उमेर, लिंग, जातको भेदभाव गर्दैन । जसलाई पनि यो रोग हुन सक्दछ । महर्षि कश्यपले बालकलाई समेत यो रोग लाग्ने कुरा बताएका छन् । शरीरमा हावा, पित्त र कफ रहेका हुन्छन् र यी तीन कुराले नै शरीरलाई गतिशील बनाउँदछन् । शरीरमा रहेका यी तीन कुरामध्ये बढी के कुरा छ र मदले पहिला के कुरालाई हानेको छ त्यस अनुसार यसका लक्षण देखिन्छन् । वर्गीकरण पनि यहीअनुसार गरिएको हुन्छ ।
मद्यले गर्ने अनेक रोगमध्येको एक रोग मदात्यय हो । यसलाई कुनै प्राचीन आचार्यले पानात्यय नाम पनि दिएका छन् । विभिन्न आयुर्वेदका ग्रन्थका वचन संकलन र मन्थन गर्दा मद्यपानका बारेमा केही विशेष कुरा जानकारी गराउनुपर्ने देखिएको छ । वंशाणुगत मदिरा पिउनेहरू वा अब वंशाणुगत बनाउन थालेकाहरू सबैले यी कुरा मनन गरुन् । कतै हाइकिङको बहानामा होस् वा अन्य कुनै पनि बहानामा, प्रशस्त तागतिला मासु आदि खाएर पिए मदिराले हानि गर्दैन भन्ने भ्रम मद्यपेयीको समाजमा व्यापक देखिन्छ । यो गलत हो ।
चरक संहिताको माधव निदानमा भनिएको छ कि रिस उठेका बेलामा, डराउँदा, तिर्खा लागेका बेलामा, शोक परेका बेलामा, कसरत गरेपछिको थकाइमा, भारी बोकेपछिको थकाइमा, हिँडेपछिको थकाइमा, मलमूत्र आदिको बेगलाई रोकिरहेको बेलामा, धेरै पानी पिएको अवस्थामा (वा धेरै अमिलो खाएका बेलामा), धेरै खाएको अवस्थामा, अजीर्ण हुँदाहुँदै पुनः खाएपछि, कमजोर हुँदा र गर्मीले लखतरान पार्दा उचित खानपिनसहित पिइएको मदिराले पनि अनेक किसिमका रोग उत्पन्न गर्दछ ।
अर्का एकथरी यस्ता मदपेयी मानिसको जमात पनि बढिरहेछ, जो आफू एक्लो भएको महसुस गरी मानसिक तनावलाई कम गर्ने निहुँमा एक्लै घरमा बसेर मदिरा पिउने गर्दछन् । ती डाइट खाएर मदिरा पिए नसा लाग्दैन समेत भन्दछन् । आफ्नो आत्मालाई वा शरीरलाई मार्नु र अर्काको शरीरको हत्या गर्नु समान पाप हो भन्दछन् शास्त्रहरू । ‘यसरी मदिरा नपिउनु न’ भनेर परिवारका सदस्यले सम्झाए उल्टो ‘धेरै बाँच्नु नै किन परो र ?’ भनी घुर्की लगाउँदछन् । यस सम्बन्धमा शास्त्रले भनेको छ, ‘खाना नखाई अर्थात् खाली पेटमा एक्लै बसेर दिनहुँ मद्यपान गर्नाले मदात्यय आदिजस्ता कष्टदायक अनेक थरी रोग उब्जने गर्दछ, यति मात्र होइन शरीर नै पनि नष्ट हुन पुग्दछ ।’
अष्टांग हृदयका अनुसार वाकवाकी हुनु, छातीमा पीडा हुनु, निद्रा बढी लाग्नु, उदर्द (शीतपित्त) रोग हुनु र शरीर भारी हुनु यी कफविकार बढी भएको मदात्ययका लक्षण हुन् भनिएको छ । त्यसैगरी गरुडपुराणका पनि कफदोषका कारण उत्पन्न हुने मदात्यय बारे यसो लेखिएको छ । कफदोषले हुने मदात्ययमा रोगीको शरीर बान्ता, मुटुको तेज धडकन वा छातीमा पीडा, अनिद्रा र पाचन शक्ति कमजोर हुनाले गर्दा सधैँ भारी र दोषले युक्त हुने गर्दछ । कफजन्य दोषको मदात्ययमा रोगी जब सुत्दछ तब निदाएर सपना देखी हाल्ने गर्दछ । सपनामा असम्बन्धित र अनर्गल कुरा बरबराउने गर्दछ । मन स्थिर हुँदैन । कफदोषले हुने मदात्ययमा रोगी आकाश बादलले ढाकेको देखेर बेहोस हुने गर्दछ । ऊ गहिरो निद्रामा पर्दछ र धेरैबेर पछि मात्र बिउँझिन्छ । होशमा आएपछि मुटुको गति बढ्दछ र सास सुक्न थालेकोजस्तो भान हुन्छ । यो दोषले गर्दा हुने शरीरको भारीपन र आलस्यका कारण उसको शरीरलाई राजाका सिपाहीले बाँधेर यातना दिइरहेको जसरी पीडा हुने गर्दछ ।
यसगरी हारीत संहितामा पनि वाकवाकी, अरुचि, थुक वा राल चुहाउने, तन्द्रा, शरीर गिलो हुने, शरीर भारी हुने, शरीर चिसो हुने र पिनास हुनेजस्ता लक्षण सहितको नसालाई कफविकारयुक्त मदात्यय भनिएको छ । त्यसैगरी काश्यप संहितामा कफविकारप्रधान मदात्ययमा कफ बढी आउँदछ, बान्ता हुन्छ, शीतज्वर आउँदछ, अलस रोग हुन्छ, तन्द्रा वा आलस्य हुन्छ, शरीर लाटो हुन थाल्दछ, चेतना हराउँदछ, पछुतो वा दुःख हुन्छ, दम निस्कन्छ, खोकी लाग्दछ, भ्रम हुन थाल्दछ, हानी हुन थाल्दछ, छेरपटी चल्दछ, पेट फुल्दछ, शरीर काम्दछ, शरीर सुन्निन्छ र मोह हुन्छ भनिएको छ ।
अर्काे चरक संहिताको माधव निदानमा वाकवाकी लाग्नु, अरुचि हुनु, छाती वा जीउ दुख्नु, तन्द्रा लाग्नु, शरीर कस्सिएको जस्तो हुनु तथा शरीर भारी र चिसो हुनु जस्ता लक्षण कफविकार बढी भएको मदात्यय हो भनेर भनेको छ ।
वातजन्य मदात्ययको लक्षण
अष्टांग हृदयमा व्याख्या गरेअनुसार निद्रा नपर्नु, दम निस्कनु, शरीर काम्नु, टाउको दुख्नु, सपनामा भ्रम हुनु, उफ्रनु र सपनामा मरेका मानिससँग कुराकानी गर्नू यी वातविकार बढी भएको मदात्ययका लक्षण हुन् भनी बताएको छ । गरुडपुराण हेर्ने हो भने मोह, छातीमा पीडा, मलत्याग गर्नमा समस्या, जतिखेर पनि तिर्खा लाग्ने, कफ निस्किरहने, पित्तज्वर आउने, खान वा अरू कुरामा मन नलाग्ने, छातीमा केही अड्किएको भान हुने, वरिपरि अन्धकार छाउने, खोकी लाग्ने, सास फेर्नमा समस्या हुने, निन्द्रा नलग्ने, पसिना बढी आउने, कब्जियत हुने, शरीर फुल्ने, मन दिग्भ्रमित हुने, सपना देखेर आत्तिने, नबोल भन्दा पनि बोलिरहने ः यी वातजन्य मदात्ययका सामान्य लक्षणहरू भनेर बताएको छ ।
वातजन्य दोषमा मद्यले मानिसको शरीर रुखो, कालो र हल्का रातो वर्णको हुन पुग्दछ भने पित्तजन्य दोषमा मानिस बढी रिसाउने गर्दछ । उसको शरीरको वर्ण रातो र पहेँलो हुन्छ र उसलाई झगडा गरिरहन मन लाग्दछ । हारीत संहिता जो नसा लागेर धेरै बोल्दछ वा बरबराउँदछ उसलाई वातविकारयुक्त मदात्यय भएको हो भन्दछ ।
त्यसैगरी काश्यप संहितामा वातविकारप्रधान मदात्ययमा रोगीलाई मुटु, कोखा र जोर्नीमा पीडा हुन्छ । रोगी आलापविलाप (Delirium) गर्दछ । निदाउन सक्दैन । ऊ पागलजस्तै देखिन्छ भनेर भनिएको छ । माधव निदानमा भने वातविकार बढी भएको मदात्ययका लक्षणमा बाडुली आइरहनु, दम बढ्नु, टाउको काम्नु, कोखा दुख्नु वा कोखामा शूल हुनु, निद्रा नलाग्नु र बढी बकबक गरिरहनु भन्ने रहेको छ ।
चरक संहितामा हेर्ने हो भने वातविकार बढी भएको मदात्ययमा मानिसलाई बाडुली आइरहन्छ, दम निस्कन्छ वा सास फुल्दछ, टाउको काम्न थाल्दछ (वा हल्लाइरहन्छ), कोखा दुख्दछ, निन्द्रा लाग्दैन र अति नै बकवास (नचाहिँदा र बिनाप्रसंगका कुरा) गरिरहन्छ भनेर बताइएको छ ।
मदिरा नपिउँदा हुने लाभ
जो मानिस सबै खालका मदिराबाट परै रहन्छ, इन्द्रियका चाहनालाई नियन्त्रण गर्दछ र बुद्धि लगाएर कामकाज गर्दछ उसलाई शारीरिक रोग तथा पागलपन जस्ता मानसिक रोगले कहिल्यै छुन सक्दैन भनेर अष्टांग हृदयमा व्याख्या गरिएको छ । त्यसैगरी गरुडपुराणमा जसले इन्द्रिलाई वशमा पारेको छ उसले पहिले (मद्यका बारेमा) यी उल्लिखित कुराको विचार गरोस् र मद्यपानका दोषबाट आफूलाई टाढा राखोस् । यसैबाट उसको कल्याण हुन्छ । मद्यपानबाट पर रहनेलाई शारीरिक र मानसिक विकारबाट कहिल्यै दुःख हुँदैन भनेर बताइएको छ ।
वात, पित्त र कफ बढी हुँदाका सबै लक्षण मिश्रित भएर देखिए त्यसलाई सन्निपातजन्य मदात्यय भनिन्छ । अब मदात्यय रोगका सामान्य लक्षणका बारेमा चर्चा गरौँ । मदात्यय रोगका सामान्य लक्षणका बारेमा अष्टाङ्ग हृदयमा मनमा भ्रम हुनु, मुटु दुख्नु, दिसा खुकुलो हनु, लगातार तिर्खा लागिरहनु, शरीर चिसो भएर अथवा शरीरमा डाह गराउँदै जरो आउनु, खानपिन गर्न मन नलाग्नु, टाउको–कोख र हाड दुख्नु, पूरै शरीर त्यसमा पनि विशेषगरी मुटु काम्नु, मुटु आदि शरीरका मर्मस्थल फुटेजसरी दुख्नु वा फुट्नु, कम्मरको तल्लो भाग जकडिनु, मुटु र फोक्सोको गतिमा रोकावट हुनु, आँखा अगिल्तिर अँध्यारो देखिनु, खोकी लाग्नु, दम निस्कनु, निद्रा नलाग्नु, धेरै पसिना आउनु, कब्जियत हुन थाल्नु, शरीर सुन्निनु, मनमा विशेष किसिमको भ्रम हुनु, बरबराउनु वा जथाभावी बोल्नु, वाकवाक लाग्नु, शरीर रसिलो हुनु, भ्रम बढ्नु र खराब सपना देख्नुजस्ता कुरा बताएको छ ।
त्यसै गरी काश्यप संहिता त्यही मदिरा जब आवश्यक मात्राभन्दा बढी पटकपटक पिइन्छ तब यो रोगको कारण बन्न पुग्दछ । यसरी पिइने मदिरा विषसमान भई वायुविकार बढाउने र अति कठिन तरिकाले मात्र निको पार्न सकिने ‘मदात्यय’ रोगलाई जन्माउने हुन पुग्दछ भनेर भन्दछ ।
साधारण मन भएको मानिस वा भोको मानिस जब नयाँ मदिरा सेवन गर्दछ अथवा जो अजीर्ण हुँदा अत्यधिक मदिरा सेवन गर्दछ उसको रस धातु (खानपिन पचेपछि बन्ने रस) दूषित हुन पुग्दछ । यसपछि यो रस–धातु रुखो र तिक्खर हुनाले शरीर भित्रको वायु तथा उगर्मीगर्ने वस्तु (मद्य) पचेका कारण पित्त सँगसँगै उत्तेजित भएर आमाशयमा जान्छ । अनि दूषित भएको कफले गर्दा यी दोष ठूला नसा र त्यसपछि लुक्दै मुटुुको मूल नसामा पुग्दछ । यसपछि शरीरलाई अत्यन्त दुःख हुन्छ । यसको लक्षण यस प्रकार रहेका छन् ।
मदात्ययमा मानिस मुडो जस्तो हुन्छ । उसलाई घिसारिन्छ । उ कराउँदछ । उसलाई जरो आउँदछ र डाह हुन्छ । उसमा हृद्द्रव (Palpitation या The heart), शरीरमा कम्पन, हर्ष, कोखा दुख्ने, टाउको दुख्ने, अरुचि हु्ने, पसिना आउने र कब्जियत हुने लक्षण देखिन्छ । रोगी अति नै पीडाले कराउन थाल्दछ । यसपछि उसलाई छेरपटी लाग्दछ । शरीर सुक्दछ । अझ बढी आलापविलाप गर्न थाल्दछ । यी लक्षण मदात्ययका लक्षण हुन् ।
मदात्ययको उपचार
मदात्ययमा मोति (भस्म), सौवर्चल नुन र जीराको मद्य पानगर्नु हितकारी हुन्छ । नसा लाग्दा वा बेहोसीमा सुठो, गुर्जो, ठूलो कण्टकारी, कूटकी वा कमलको जरा, पिप्लाको जरा र पिप्ला मिसाएर पकाइएको काँडापानी पकाएर खानू । (अग्निपुराण)
वात आदि दोषको असर समाप्त भएपछि त्यसबाट भएको मदात्ययमा देखिने बेहोसी आदि लक्षण र त्यसले रोगीलाई दिने दुःख कुनै उपचार नगरी संयमित हुनाले आफैँ नै ठिक हुन्छ ।
तर, संन्यास मदात्यय उपचार नगरी निको हुँदैन । यो मदात्ययमा शारीरिक, मानसिक र बाचिक चेष्टामा पर्ने दबावले गर्दा निर्बल भएको मानिस वास्तवमा आत्महत्या गर्न नै खोजिरहेको जस्तो देखिन्छ । यसबेला ऊ काठको मुढोजस्तो मरेतुल्य हुने गर्दछ । यसबेला तुरुन्त उपचार गरिएन भने ऊ चाँडै मर्दछ पनि ।
गोही आदि हिंस्रक जीवले घेरिएको अथाह पानीले भरिएको सागर जस्तो यो संन्यास नामक मदात्यय रोगको सागरमा डुबेको मानिसलाई जतिसक्यो चाँडो जोगाउनु पर्दछ ।
यस्ता रोगीमा पनि मद, मान, रिस, सन्तोष आदिजस्ता प्रवृत्ति हुन्छन् । यिनै प्रवृत्तिको सहारामा ऊ यताउताबाट उचित र अनुचित कुराको ज्ञान लिई यथोचित उपायले बाहिर निस्कन सक्दछ । तर, अयुक्तिपूर्वक (जथाभावी) मद्यपान गरी रोग लागेका मानिसले यसो गर्न सम्भव हुन्न किनकी तिनमा कर्तव्य र अकर्तव्यको ज्ञान नष्ट भइसकेको वा काम नदिने खालको भइसकेको हुन्छ । (गरुड पुराण)
मदात्यको उपचारका हारीत संहिता लेख्दछ ।
(क) बान्ता गराउनु, सुताउनु, नुहाइदिनु, दूध पिउन दिनु, खानामा सक्खर र दही मिसाएर खुवाउनु ः यी कार्य मदात्ययको रोगमा हितकर हुन्छन् ।
(ख) दहीको पानी (मस्तु), छोकडा, ठूला खालको दाख, अनन्तमूल, अमिली, अमला र फाल्सा मिसाएर बनाइएको चटनी चटाउनाले मदात्यय नाश हुन्छ ।
(ग) दाख, अमला, छोकडा र फाल्साको रस मिसाएर दूध पिउनाले पनि सबै खालका मदात्यय नाश हुन्छन् ।
(घ) मदात्ययमा हर्रोको काँडापानी दूधसँग पिउनु हितकर हुन्छ ।
(ङ) सुपारीका कारण हुने मदात्ययमा कम्पन, मोह, मूर्छा, मानसिक थकाई, आँखा अगिल्तिर अँध्यारो हुने, पसिना बढी आउने र राल चुहिने जस्ता लक्षण देखिन्छ । भ्रम, मानसिक थकाई (आदि) सहितको बेहोसीपन देखिए त्यस्ता मानिसलाई सुपारीका कारण मदात्यय भएको हो भनी जान्नू । यस्ता रोगीलाई चिसो पानी पिउन दिनु अथवा वस्तिकर्म (डुस) गराउनु हितकर हुन्छ ।
चिनी मात्र अथवा नागरमोथे र चिनी खान दिनू ।
(च) कोदोका कारण मदात्यय भई कोही बेहोस भए उसलाई (होसमा आएपछि) तताएर सेलाई चिसो भएको दूध पिउन दिनू ।
(छ) धतुरो खाएर कोही बेहोस भए चिनी र दही फिटेर खान दिनू ।
(ज) कलिहारी नामक विषालु कुरा, कँडेल, भाङ, लहरे बेली तथा अन्य सबै खालका मदकारी कन्दमूलले लगाउने नसामा तुरुन्त बान्ता गराउनु पर्दछ । अथवा उसलाई सख्खर मिसाइएको दूध वा दही पिउन दिनू ।
प्रतिक्रिया