सर्लाही । जिल्लाको लालबन्दी नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने अभियान सुरु भएको छ ।
नगरलाई क्षयरोग मुक्त बनाउनका लागि सबै पक्षले चासो देखाएका छन् । बुधबार नगरस्तरीय क्षयरोग मुक्त समितिका पदाधिकारीको सुक्ष्म योजना तर्जुमा निर्माण कार्यक्रममा सहभागी नगरप्रमुख बासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक मुमताज मिकरानी, क्षयरोग मुक्त अभियान कार्यक्रम संयोजक जनस्वास्थ्यकर्मी राकेश कुमार महतोसहित नगरको १७ वटै वडाध्यक्षले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । नगरप्रमुख अधिकारीले आफ्नो कार्यकालमा क्षयरोग मुक्त पालिका बनाउन नसके पनि नियन्त्रण गर्ने प्रतिबद्धता जनाए ।
लालबन्दी नगरपालिकालाई सन् २०३० सम्म क्षयरोग मुक्त पालिका घोषणा गर्ने योजनासहित क्षयरोग मुक्त अभियान सञ्चालन भइरहेको छ । उक्त अभियानअन्तर्गत १७ वटै वडामा वडास्तरीय क्षयरोग मुक्त समितिका सदस्यलाई सुक्ष्म योजना तर्जुमा निर्माण कार्यक्रममा सहभागी गराएर छलफल गरिसकिएको छ ।
वडा समितिबाट आएका विषयलाई नगरस्तरीय क्षयरोग मुक्त समितिका पदाधिकारीको सुक्ष्म योजना तर्जुमा निर्माण कार्यक्रममा बृहत् छलफल गराइएको क्षयरोग मुक्त अभियान कार्यक्रम संयोजक जनस्वास्थ्यकर्मी महतोले जानकारी दिए । कार्यक्रममा हरेक वडामा रहेका क्षयरोगी पहिचान, निदान, उपचार, सहयोग र डट्स सेन्टर सञ्चालनमा आइपरेका समस्या र ती समस्या समाधानका उपायबारे छलफल गरी योजना तर्जुमा गरिएको छ । ती योजनालाई कार्यपालिका बैठकमा पास गराउने निर्णयसमेत गरिएको छ ।
लालबन्दीका वडा–२, ३, ५, ६, १०, ११, १२ र १५ मा चालु आर्थिक वर्षबाट आधारभूत स्वास्थ्य सेवा केन्द्रमार्फत क्षयरोगको औषधि, उपचार सेवा सुरु गरिएको छ । १७ वडा मध्ये १२ र १३ नम्बर वडाको आधा भाग र १४ र १५ नम्बर वडामा भौगोलिक रूपमा काम गर्न केही अप्ठ्यारो रहेको कार्यक्रम संयोजक महतोले बताए । ती मध्ये वडा–१६ र १७ मा बढी क्षयरोगी रहेका छन् । खुला सिमानाका कारण पनि क्षयरोग मुक्त अभियानमा समस्या पर्ने तर सीमित स्रोत, साधनको उच्चतम प्रयोगबाट परिणाममुखि काम गर्ने प्रयास हुने महतोले बताए ।
यहाँ विशेष गरी चेतनाको कमि, समाजमा अपहेलित हुने डर लगायतले रोग लुकाउने समस्या रहेकोले गर्दा पनि रोग पूर्णरूपमा निदान हुन नसकेको महतोको बुझाइ छ । जिल्लाको लालबन्दी, हरिवन र बरहथवा नगरपालिका क्षयरोगको उच्च जोखिमा रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
मधेस प्रदेशका हरिवन र निजगढ नगरपालिका तथा लक्ष्मीनियाँ गाउँपालिकालाई नेपाल सरकारले सन् २०३५ सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यअनुरूप पहिलो चरणमा क्षयरोग मुक्त पालिका घोषणा गर्ने लक्ष्य लिएको छ । जसअनुसार २०७८ सालबाट त्यस स्थानीय तहहरूमा क्षयरोग मुक्त अभियान घोषणा गरिएको छ । नेपालमा हरेक दिन ४५ जना क्षयरोगीको मृत्यु हुने गरेको छ ।
क्षयरोगका ६८ प्रतिशत बिरामी मधेस, बागमती र लुम्बिनी प्रदेशका रहेका छन् । क्षयरोगको मृत्युको दर ३ प्रतिशत छ । क्षयरोग माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको संक्रमणका कारण हुने संक्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्छ । १ जनाबाट १० जनासम्म क्षयरोग सर्न सक्दछ । फोक्सोमा क्षयरोग लागेमा सर्ने र अन्य अंगमा लागेमा यो रोग सर्दैन । क्षयरोग भएका बिरामीले खोक्दा, हाछ्युँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई संक्रमण गर्छ । यस्तै, मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।
क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहमा हुने स्वास्थ्यकर्मी बताउँछन् । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ ।
कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिमा पर्ने गर्दछन् । तौल कम हुनु, खानामा रुचि कम हुनु, २ हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।
सरकारले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा मुलुकलाई क्षयरोग मुक्त घोषणा गर्ने लक्ष्य लिएको छ ।
सर्लाही
प्रतिक्रिया