मुगुको यार्सा संकलन क्षेत्रमा चिकित्सक टोली पठाइयो

मुगु । मुगुको पाटन क्षेत्रमा यार्सा टिप्न गएका संकलकहरु लेक लागेर बिरामी भई मृत्यु हुन थालेपछि जिल्लाबाट औषधिसहित चिकित्सकको टोली पठाइएको छ । चिकित्सक कर्णराज भामको नेतृत्वमा औषधि र अक्सिजनसहित एक जना चिकित्सक र अन्य तीन जना स्वास्थ्यकर्मी गरी चार जनाको टोली यार्सा संकलन क्षेत्रमा पठाइएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए ।

यार्सा संकलन क्षेत्रमा लेक लागेर धमाधम बिरामी र मृत्यु हुन थालेपछि रोकथामको लागि जिल्लाबाट औषधिसहित चिकित्सक टोली पठाउनुपर्ने अवस्था आएको उनको भनाई छ । जिल्लाबाट गएको चिकित्सकको टोलीले मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्यकर्मीसँग समन्वय सहकार्य गरेर लेक लागेर बिरामी परेका स्थानीयको औषधि उपचारमा खटिने निमित्त जिल्ला स्वास्थ्य सेवा प्रमुख अर्जुन भामले बताए ।

जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोली मुगु गाउँ, सिरानचौर र माथिल्लो मुगुसम्म पुग्ने र पाटन क्षेत्रबाट आएका बिरामीलाई औषधि उपचार गर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । लेक लागेर सिकिस्त बिरामी परेका जीवन बुढाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको छ । यार्सा टिप्न गएका पाँच जनाको लेक लागेर मृत्यु भइसकेको छ ।

प्रतिक्रिया