काभ्रे । यतिबेला काभ्रे उद्योग वाणिज्य संघको सन्निकट ४२औँ चुनावी अधिवेशनको सरगर्मी बढेको छ । बनेपा–काभ्रे उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यही जेठ १९ गते निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअन्तर्गत आज उम्मेदवारहरुको मनोनयन दर्ता भएको छ ।
संघमा उद्योगी व्यवसायीहरु प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये बलियो प्यानल मानिएको उद्योगी व्यवसायीहरुको साझा प्यानल राजन मानन्धर र प्रताप वैद्यको समूहको टक्कर पर्ने बताइन्छ भने अध्यक्षकै रूपमा वसन्त नारायण भोछिभोयाको प्यानल पनि रण मैदानमा उत्रिएको छ ।
राजन नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा परिचित व्यवसायी रविन्द्र वैदारले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । संघको वर्तमान कार्यसमितिको महासचिव रहेका वैदारले व्यवसायी पलायनको मूल समस्या रोक्न पहल गर्ने मुल एजेन्डा बनाएका छन् । उनले उद्योग वाणिज्य संघलाई प्रविधिमैत्री बनाउने योजना अघि सारेका छन् ।
व्यवसाय दर्ता तथा नविकरणलाई अनलाइन बनाउने बताउँदै उनले उद्योगी व्यवसायीको हकहितका लागि जिल्लास्थित घरेलु तथा साना उद्योग तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै उद्योगी व्यवसायीलाई अनुदान, व्यवसाय अनुसारको कर छुट र व्यवसायको प्रकृति अनुसार जरिवानाको छुटका लागि पहल गर्नेलगायत आफ्नो चुनावी मुद्दा नै रहने बताएका छन् ।
व्यवसायलाई व्यवस्थित बनाउँदै पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्थाको अन्त्यका लागि पहल गर्ने वैदारले बताए । वैदार २०६४ सालमा युवा उद्यमी मञ्च काभ्रेमा संलग्न हुँदै २०६६ सालदेखि २०७० सम्म मञ्चको अध्यक्ष भएका थिए । २०७० सालमा सहसचिवमा निर्वाचित भएका वैदार २०७४ मा सचिव र २०७७ मा महासचिव पदमा निर्वाचित भएका थिए ।
उद्योग वाणिज्य संघ काभ्रेमा त्रिपछिय भिडन्त हुने देखिन्छ । आफ्नो तीन प्यानलको झण्डै ३३ जना चुनावी मैदानमा छन् भने नेतृत्व हत्याउन चुनावी मसलाहरू बजारमा फ्याँकिएका छन् । उम्मेदवारहरू मतदाताहरुका मन मत जित्न यतिबेला काभ्रेका व्यवसायी उद्योगीको घर–घर पुगेर आफ्नो मसला राखिरहेका छन् । राजन र रवीन्द्र वैदार र प्रताप वैद्य नेतृत्वको समूहको भने आफ्नो कुटिल चालले चुनावी माहोल कडा हुने संकेत देखिएको मतदाताहरु बताउँछन् ।
प्रतिक्रिया