काभ्रे । काभ्रे जिल्लाको ऐतिहासिक नगर बनेपामा करिब २५ सय वर्ष अघिदेखि मनाइँदै आएको चण्डेश्वरी जात्रामा युवाहरूबीच खुकुरी हानाहान भएको छ । गत १० जेठमा सुरु भएर १२ जेठमा सकिएको जात्रामा युवाहरूले आपसमै खुकुरी हानाहान गर्ने र महिला तथा किशोरीहरूमाथि दुव्र्यवहार गरेको घटना बाहिरिएको छ ।
विशेष गरी नेवार समुदायले मनाउने उक्त जात्रा बर्सेनि चण्डी पूर्णिमा (वैशाख शुक्ल पूर्णिमा) देखि ३ दिन मनाउने गरिन्छ । जात्रा आफैँमा एक उत्साह भर्ने पर्व हो । बनेपाको जात्रा पछिल्लो समय हरेक धर्मावलम्बी र समुदायले उत्साह र आस्थाको पर्वका रूपमा मनाउँदै आएका छन् ।
तर, जात्राको अन्तिम दिन आइपुग्दा भने केही युवाले आपसी सद्भाव भड्किने गरी हिंसात्मक गतिविधि गरेका हुन् । जात्रामा सहभागी युवाहरूले नशा सेवन गरी साथी–साथीबीच नै खुकुरी हानाहान गर्दा १ जना गम्भीर घाइते भएका छन् । जात्राको समयमा एक महिलाले गलामा लगाएको सुनको सिक्री लुटेको, महिला तथा युवतीहरूमाथि दुव्र्यवहार गरिएको भिडियोसमेत सार्वजनिक भएको छ ।
सो प्रकरणपछि जात्रा आपसी सद्भाव बढाउनेभन्दा पनि सद्भाव भड्काउनेतर्फ उन्मुख भएको प्रतिक्रिया आइरहेको छ । केही अराजक शैली र स्वभाव भएका युवाको भूमिका जटिल र असामाजिक बन्दै गएकोतर्फ संस्कृतिविद् र स्थानीयले चिन्ता व्यक्त गरेका छन् । वरिष्ठ साहित्यकार मोहन दुवाल भन्छन्, ‘युवाहरूका केही गतिविधिले हामीलाई पनि लज्जित बनाएको छ । विगतका दशकमा जात्रामा यस्ता गम्भीर किसिमका आपराधिक र जघन्य घटना भएका थिएनन् ।’
उनले केही युवाको व्यवहारले जात्राको रौनक बिथोलिए पनि समग्रमा जात्राको व्यवस्थापन र जात्रा भएका स्थलहरूको रैथाने उत्पादन, स्थानीय कला संस्कृति र पेसा–व्यवसाय तथा आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा टेवा पु¥याएको बताएका छन् ।
यता, इलाका प्रहरी कार्यालयले भने जात्रामा भिड नियन्त्रण र युवाहरूको अराजक शैली नियन्त्रण गर्न खोज्दाखोज्दै पनि असफ भएको प्रतिक्रिया दिएको छ । घटनालगत्तै घाइतेको उद्धार गरी उपचारका लागि पठाएको र घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
प्रत्येक वर्षको वैशाख शुक्ल पूर्णिमा (चण्डी पूर्णिमा) देखि ३ दिन मनाइने यो जात्रामा चण्डेश्वरी मन्दिर र परिसरलाई बेहुलीझैँ सिँगारिन्छ । ३ दिनसम्म चल्ने सो जात्रामा चण्डेश्वरीमाईको पूजापाठ गर्नुका साथै घरमा आएका पाहुनाको विशेष स्वागत सत्कार गरिन्छ । बनेपालीहरूले यो जात्रालाई महान् पर्वका रूपमा मनाउने गर्छन् ।
जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ । बूढापाकाले टोलटोलमा भेला भएर बिहान–बेलुका भजन गाउने गर्छन् । सडक, चोकहरूमा जात्रा मनाउने र हेर्नेको भिड हुन्छ । शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवीको पूजा गर्न टाढादेखि पनि भक्तजनहरू आउने गर्छन् । जात्रामा गएर आफूहरूले मागेको पुग्ने कुरामा विश्वास लिइन्छ ।
बनेपा नगर कार्यालयले बर्सेनि जात्राका लागि आर्थिक सहयोग गर्दै आएको छ । चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका संघ–संस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै बसाइँ सरेर गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् ।
धार्मिक कथन एवं किंवदन्तीअनुसार करिब २५ सय वर्षअघि दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरू (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे । स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरूको भागाभाग भई ज्यान जोगाउन पन्छीको रूप धारण गरी उक्त वनबाटै अलप भए ।
चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । चम्कप वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन्, तर सकिनन् । त्यसपछि उनी भगवतीको रूपमा प्रकट भई चण्डासुरको बध गरेर देवताको रक्षा गरेको खुसीयालीमा आराध्यदेवी चण्डेश्वरी माईको जात्रा मनाइँदै आइएको जनविश्वास छ ।
प्रतिक्रिया