नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।

उनका अनुसार गत अप्रिल र मे महिनामा सात वटै प्रदेशबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो । तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ देखिएको उनले जानकारी दिए । ‘यो नयाँ भेरियन्ट होइन, ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो, यसलाई नयाँ नाम मात्र दिइएको हो’, उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट संक्रामक नभएको बताए । ‘केपी प्रजातिको भेरियन्ट त्यति संक्रामक छैन, यसको प्रभाव खासै छैन’, उनले भने । ४२ वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन (जेएन १) सात जनामा ओमिक्रोन (बीए २), दुई जनामा देखिएको छ ।– रासस

प्रतिक्रिया