काठमाडौं । विभिन्न पार्टी परित्याग गरी सात सयभन्दा बढी नेता तथा कार्यकर्ताहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सप्तरीले बुधबार सप्तरीको राजविराजमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा वृहत कार्यक्रममा उनीहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नवप्रवेशीहरूलाई खादा अविर लगाएर पार्टीमा स्वागत गरेका थिए । एकीकृत समाजवादी सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सचिव शम्भु यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य जयप्रकाश यादवले राखेका थिए ।
मलेठकाको कार्यक्रम सञ्चालक पार्टी जिल्ला सचिव शम्भु यादवले गरेका थिए । त्यस्तै झहुरा चोकको कार्यक्रम सञ्चालन जय प्रकाश यादवले गरेका थिए । नेकपा एमाले परित्याग गरी राजविराज– ९ का पूर्व वडाध्यक्ष शम्भुप्रसाद यादव ‘लाली’ का साथै नेकपा एमालेका पूर्वजिल्ला सदस्य तथा शहिद पुनित यादवका छोरा जागेश्वर यादव, लोसपा नेपालका राजगढ गाउँका हरि मण्डल, बौकाइ मुखिया तथा अनिल झालगायत नेताहरूको नेतृत्वमा धेरैको संख्यामा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
मो. ताहिरको नेतृत्वमा ५५० जना नेताकार्यकर्ता लोसपा परित्याग गरी नेकपा एसमा प्रवेश गरेका छन् भने राजगढ गाउँपालिकास्थित झौरा चोकमा बुधबार नै आयोजित कार्यक्रममा लोसपा, कांग्रेस, एमाले, जसपा, जनमत, सदभावना पार्टी परित्याग गरी २५० जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।
कार्यक्रममा नेकपा एसका केन्द्रिय उपाध्यक्ष धर्मनाथ साह, नेकपा एसका सचिवालय सदस्य एवम् पूर्वमन्त्री रामचन्द्र झा, नेकपा एसका केन्द्रीय सदस्य एवम् मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने, नेता रामचन्द्र यादव, केन्द्रीय सदस्य एवम् सप्तरी जिल्ला सहइन्चार्ज उषा पोखरेल, केन्द्रिय सदस्य नथुनी दास, निरञ्जन झा, मधेस प्रदेशका सहसचिव नारायण आचार्य, सिरहा जिल्ला अध्यक्ष उत्तरबहादुर मगरलगायतका प्रदेश, जिल्ला, क्षेत्रलगायतका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया