खसी चोरेको आरोपमा जुजुकाजी पक्राउ

काभ्रे । खसी चोरीको आरोपमा एक जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका– ८ नयाँ बस्ती बस्ने वर्ष ५७ का जुजुकाजी सिफरलाई खसी चोरी गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

प्रहरीका अनुसार गत मंगलबार दिउँसो ३ बजेको समयमा भक्तपुर सूर्यविनायक नगरपालिका– ८ स्थित अस्थाई प्रहरी पोष्ट आशापुरीबाट खटिएको गस्ती टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा काभ्रेपलाञ्चोकबाट आशापुरीतर्फ जाँदै गरेको बा ७० प ६५२५ नम्बरको स्कुटर रोकी चेक जाँच गर्दा काभ्रेको बनेपा नगरपालिका– ८ नयाँ बस्तीका जुजुकाजीले उक्त स्कुटरमा सेतो रङको खसी राखेर ल्याएको देखेर सोधपुछ गर्दा उक्त खसी काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका– ३ तिनखुट्टेस्थित बस्ने रुद्रप्रसाद सापकोटाको गोठमा बाँधेर राखेको भेटिएपछि उनी पक्राउ परेको बताइएको छ । उनले खसी चोरेर ल्याएको पाइएकाले नियन्त्रणमा लिई ९ बुधबार चोरी कुसुरमा काभ्रे जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिफरबाट प्रहरीले बा ७० प ६५२५ नम्बरको स्कुटर थान–१, एउटा ३८ किलोको सेतो रङको खसी बरामद गरेको छ । प्रहरीले अरु कोही कसैको खसीबोकाहरु हराएको र निज व्यक्तिले चोरी गरेको शंका लागेमा निजलाई पहिचान गर्न सक्ने कोही पीडित भए इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया