सगरमाथा आरोहणका क्रममा एक नेपाली र बेलायती नागरिक बेपत्ता

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् ।

मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा संखुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए ।

चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार सात सय ५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवै जना बेपत्ता भएका उनले बताए । दुवै जनाले ८ जेठमा बिहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि २२ चैतमा ‘एटके एक्सपिडिसन प्रालि’ मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए ।

वातावरण अनुकूल भएको अवस्थामा दुवै जना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रबार दोस्रो आधार शिविरहुँदै शिखरतर्फ प्रस्थान गरेका पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ ।

बेपत्ता दुवै जनाको खोजी गर्न उनीहरुको कम्पनीले ६ अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले जनाएको छ । बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।– रासस

प्रतिक्रिया