औषधि पसलमा अनुगमन टोली पुग्दा औषधि व्यवसायीकै भागाभाग

सप्तरी । औषधि व्यवस्था विभागले संयुक्त अनुगमन सुरु गरेसँगै राजविराजका अधिकांश औषधि व्यवसायीहरुको भागाभाग भएको छ । सोमबार विभागको विराटनगर शाखा कार्यलयबाट खटिएको टोलीले राजविराजका औषधि पसलमा छड्के अनुगमन गर्न आएका थिए ।

तर, अधिकांश पसलहरु बन्द नै रहेको पाइएपछि प्रभावकारी अनुगमन गर्न नसकिएको विराटनगर शाखाका अधिकृत एलन खड्काले बताए । संयुक्त अनुगमन समितिद्वारा अनुगमन भइरहेको जानकारी पाए लगत्तै अधिकांश औषधि पसले आफ्नो सटर झारेर बेपत्ता भएको देखियो ।

औषधि व्यवस्था विभाग विराटनगरको अगुवाइमा, जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सप्तरीका सुरक्षा निकायलगायतको संयुक्त अनुगमन टोली खटिएको थियो ।

‘दर्ता नभएका, बिल दुरुस्त नराख्ने, म्याद गुज्रेका औषधिहरु, नेपालमा दर्ता नभइ राखिएका औषधीहरु, टेम्प्रेचर नमिलाई राखिएका भ्याक्सिनहरु, औषधिको गुणस्तर जाँचका लागि हामी अनुगमन गर्न आएका थियौँ’, उनले भने, ‘त्यसपछि यहाँ आइपुग्दा अधिकांश पसलहरु बन्द रहेको पाइयो, यो हाम्रो लागि चुनौती पनि हो र उद्देश्य पनि पूरा भएन ।’

अनुगमन टोली आएको खबर पाउने बित्तिकै धेरै औषधि पसले पसल बन्द गरेर भागेको टोलीका एक सदस्यले बताए । उनका अनुसार बिल बिजक, प्रतिबन्धित औषधि बेचबिखन भए–नभएको, सरसफाई, डेट एक्सपायर, भण्डारणलगायतका विषयमा औषधि पसलको अनुगमन गर्न टोली निस्किएको थियो ।

अनुगमनका क्रममा बिल बिजक नकाटेको र सरसफाई नगरेको भन्दै केही पसललाई रु ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका कर्मचारी नायब सुब्बा सुशीलकुमार कर्णले जानकारी दिए ।

अनुगमन टोलीका एक सदस्यका अनुसार फार्मेसीको अनुमति लिएर भित्र ल्याब चलाइरहेको सूचना समेत आएको छ । उनले ती पसलहरुको अब गोप्य तरिकाले अनुगमन गरी कारबाही गर्ने तयारीमा रहेको बताए ।

अनुगमन गरिएका पसलहरुमा पनि औषधि पसलमा राखेर विक्री गर्न नहुने खालका केही सामग्रीहरु जफत गरिएको उनले बताए । ‘अन्य चाहिँ लागु औषधका रेकर्डहरु नमिलाई राखिएको, कतै–कतै रेडर्क नै नराखिएको जस्ता देखियो’, उनले भने ।

प्रतिक्रिया