प्रदेश सरकारलाई विश्वासको मत दिन्छौँ : नेपाल

जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता समाजवादी पाटी नेपाल नेतृत्वको मधेस सरकारलाई विश्वासको मत दिने बताएका छन् । अध्यक्ष नेपालले मंगलबार बिहान जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेश सरकारमा आफ्ना पार्टीका मन्त्री सहभागी भएकाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने कार्य औपचारिक्ता, मान्यता र नैतिक रहेको बताए ।


उनले जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र नेकपा (एकीकृत समाजवादी) एक ठाउँमा रहेको भन्दै यी चार दलसँग बहुमत भएकाले मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत सजिलै पाउने दाबी गरे । उनले अहिले भने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग हातेमालो गरेर अघि बढेको बताए । उनले यसो भनिरहँदा जसपा नेपालबाट विभाजित जसपा अध्यक्ष अशोक राईसँग यात्रा गर्ने इच्छासमेत व्यक्त गरे ।


सत्ता समीकरणको प्रसंगमा घटनाक्रमले कुन मोड लिने हो भन्दै पूर्वानुमान गर्न नहुने बताएका नेपालले भने यादव र राई एक ठाउँ आउन सक्ने आकलन गर्न भ्याए । ‘के थाहा उहाँहरू छलफल गर्दै हुनुहोला । एक ठाउँमा आउनुहुन्छ कि ?’
अध्यक्ष नेपालले सुदूरपश्चिममा नेकपा(एकीकृत समाजवादी) नेतृत्वको सरकारमा नेकपा एमालेलाई ल्याउने प्रयास भइरहेको र एमालेसँग सहकार्य गर्दा देशभरि नै मिलेर जाने स्थिति बनाउने पक्षमा आफू रहेको प्रस्ट्याए ।

प्रतिक्रिया