रामचन्द्र राई रुपाबुङ्गका ३ मुक्तक

नभेटेको ठाउँ ठहर


उफ ! बैंस फुलेकै बेलामा पनि कसो कसो खुसी किन्ने पहरै पो भेटिएन
जिन्दगानी बाँच्ने कला सिक्दै गर्दा कता कता रमाईलो गर्ने रहरै पो भेटिएन
विश्वास अलगथलग भै धरमराउँदा मान्छे–मान्छे बीचको सम्बन्ध ढल्न तम्तयार
असह्य पीडाको बेला धरधरी रुँदै गर्दा मनले दुःख बिसाउने ठाउँ ठहरै पो भेटिएन ।

–२०३३ काठमाण्डौ

सँगालेको मन


हजुरको माया पाउन कति अविरल मलजल हालें
अथक कति छाल उच्छालें साथै कति मन पगालें
फुल्नु त कुरै छाडी दिउँ अङ्कुर पलाउनै पनि सकेन
मेहेनत खेरजाँदा मुश्किलले आफ्नो तनमन सँगाले ।

–२०३४ काठमाण्डौ

स्वैर कल्पना


कस्तो हुन्थ्यो होला ! मायाको कमीले धुजा मन सिउन पाए
कस्तो हुन्थ्यो होला ! तिम्रो मायालु हातबाट अमृत पिउन पाए
तिम्रो मुस्कानै मायालु र ब्यवहारै मायालु–सबै सबै लाग्छन् मायालु
अनि झन् कस्तो हुन्थ्यो होला ! जीवन बाँचुन्जेल तिमीसंग जिउन पाए ।
–२०३५ काठमाण्डौ

(रामचन्द्र राई रुपाबुङ्गको ‘मान्छेको बस्तीमा हुने कुरा’ मुक्तक संग्रहबाट ।)

प्रतिक्रिया