बारा । जितपुरमा खाद्य स्वच्छतासम्बन्धी तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको आयोजनामा बिहीबार जितपुरभित्र रहेका होमस्टे, होटल, रेस्टुरेन्ट तथा क्यान्टिन सञ्चालकलाई खाद्य स्वच्छतासम्बन्धी तालिम दिइएको छ ।
पछिल्लो समय सहर तथा गाउँमा अखाद्य पदार्थको प्रयोग बढिरहेको र विवाह, भोजलगायत विभिन्न कार्यक्रममा त्यस्ता खाना खाने मानिस बिरामी पर्ने गरेको घटना बढ्दै गएकाले व्यवसायी सचेत रही ग्राहकलाई स्वच्छ खाना प्रदान गर्नका लागि तालिम दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश सिंहले बताए ।
उनले होटल व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी प्रस्तुतीकरण दिएका थिए । उक्त प्रस्तुतीकरणको क्रममा होटल तथा रेस्टुरेन्टको सरसफाइ अवस्था, खाना बनाउने ठाउँ, खाना खुवाउने ठाउँ तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको पर्याप्त व्यवस्था गरिएको, भान्छाकोठा, खान खुवाउने स्थानमा बसेर धूमपान गर्न निषेध गर्ने, पिउने पानीका लागि प्रशोधित तथा पिउनयोग्य पानी व्यवस्था मिलाउने बारेमा होटल व्यवसायीलाई जानकारी गराएका थिए ।
त्यस्तै, कच्चा तथा तयारी खानेकुराका लागि छुट्टाछुट्टै ठाउँ÷बोर्ड र भाडावर्तनको व्यवस्था भएको हुनुपर्नेे, मासु, दुग्धपदार्थलाई तापक्रम भण्डार गरी मिति तथा समय ठिकसँग लेबल लगाएको हुनुपर्ने, पेय पदार्थ र खानेकुरा छोपेर जतिसक्दो चाँडो वा कुनै पनि हालमा २ घण्टाभित्र ५ डिग्री सेल्सियसको तापक्रम राखिएको हुनुपर्ने जानकारी दिइएको थियो ।
यस्तै तालिममा जानकारी दिएअनुसार रेफ्रिजेरेटर तथा फ्रिजहरू ठिक तापक्रममा चलिरहेको छन् या छैन चेकजाँच गर्ने, खाद्य स्वच्छता र सरसफाइका बारेमा कर्मचारीहरूलाई पर्याप्त तालिम दिने र पकाएका, चिस्याइएका, भण्डारण गरिएका, पुन: तताइएका र झिकेर खाने बस्तुहरूको तापक्रम तथा समयको अभिलेख हुनुपर्ने लगायतका बारेमा व्यवसायीहरूलाई जानकारी गराएका थिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछाने रहेको थियो । तालिममा अध्यक्ष शर्माले लामिछाने जितपुरसिमरा उपमहानगरकै ठूलो बजार भएकाले यहाँको होटेल रेस्टुरेन्टको खाना गुणस्तरयुक्त हुनु आवश्यक रहेको बताए ।
तालिम कार्यक्रममा सहभागीले राखेको जिज्ञासाको जवाफ प्रमुख सुरेश सिंहले दिएका थिए । उक्त तालिम कार्यक्रममा जितपुरसिमरा नगर उद्योग वाणिज्य संघका कोषाध्यक्ष रामबाबु साह, होटेल पर्यटन व्यवसायी संघ बाराका कार्यवाहक अध्यक्ष शम्भु खड्गीलगायत जितपुरसिमराका होटेल व्यवसायी किराना पसल सञ्चालकको उपस्थिति रहेको थियो ।
बारा
प्रतिक्रिया