६ वर्षदेखि आसैआसमा किसान

बारा । बाराका किसानहरूको मूल आधार बन्न लागेको जमुनी सिँचाइ आयोजना विगत ४ वर्षदेखि मुआब्जा र विद्युतिय ढोकाको विवादमै अड्किएको छ । बाराको आदर्श कोतवाल गाउँपालिकास्थित निर्माणाधीन उक्त आयोजना मुआब्जा र विद्युतीय ढोकाको विवादमा अड्किँदा यस आयोजनाबाट लाभान्वित हुने आसमा रहेका किसान निराश बनेका छन् ।

मुआब्जा वितरण प्रक्रिया र ब्यारेजमा विद्युतीय ढोका निर्माणमा ढिलाइ हुँदा निर्धारित समयमा काम हुन सकेको छैन । करिब ३५ करोड रुपैयाँ खर्च भइसकेको यो आयोजना कहिलेदेखि सञ्चालनमा आउँछ भन्नेमा अझै अन्योल रहेको स्थानीय मुस्तुफा अन्सारीले बताए ।

६ वर्षअघि बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसानलाई वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने महात्वाकांक्षी आयोजनाका रूपमा अघि बढाइएको जमुनी सिँचाइ योजनाको काम अहिले सुस्त गतिमा छ । करिब ४ वर्षअघि ब्यारेज निर्माण भए पनि ब्यारेजमा विद्युतीय ढोका जडानको काम सुरु हुन सकेको छैन । व्यारेज निर्माणपछि १२ करोड रुपैयाँ लागतमा तटबन्ध निर्माणको काम गत वर्ष सुरु गरिएकामा तटबन्ध निर्माण पनि ८० प्रतिशत मात्र भएको छ ।

योजना सञ्चालनमा आएपछि गण्डक नहरको ब्लक नम्बर ११ देखि १५ सम्म बाह्रै महिना पानी उपलब्ध हुने छ । जसबाट बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसान लाभान्वित हुनेछन् । यति उपयोगी परियोजनालाई सम्पन्न नगरी लथालिंग पारेर छोड्दा बारा र रौतहट दुबै जिल्लाका किसान निराश छन् ।

सन् १९७१ देखि सन्चालनमा आएकोमा गण्डक नहरको पुछारका अन्तिम ४ ब्लकहरू सम्म पानी पुग्दैन । जमुनि सिंचाइ योजना त्यसकै बिकल्पको रुपमा निर्माण गरिएको हो ।

नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्ज मार्फत व्यारेज र यसका संरचना निर्माण भई रहेका छन् । योजना अन्तर्गत आव २०७२÷०७३ मा व्यारेज र त्यसका अन्य संरचनाको निर्माण कार्य सुरु गरी आव २०७६÷०७७ मा व्यारेज निर्माण कार्य सम्पन्न भई सकेको छ । नेपाल सरकारको अनुदान तथा विश्व वैंकको ऋणमा बाराको आदर्श कोतवाल गाउ पालिका तथा पचरौता नगरपालिकाको सीमामा उक्त सिंचाई योजनाको मूल संरचना निर्माण भएको छ ।

ठेकेदार कुमार/आशिष/अमर जेभि कालिमाटीले ३१ करोड रुपैयाको यो ठेक्का ३० प्रतिशत बिलो गई २२ करोड ४० लाख ५१ हजार १ सय ४५ रुपैया १० पैसामा (मूल्य अभिवृद्धी कर सहित) मा व्यारेज निर्माण गरेको थियो ।

१२ करोड रुपैयाको लागतमा डिएस निर्माण सेवाले गत बर्ष १ हजार १ सय मिटर लामो तटबन्ध निर्माण सुरु गरेको थियो । व्यारेजमा पानी भण्डारण प्रयोजनका लागि व्यारेज देखि उत्तर तर्फ निर्माणाधिन तटबन्धमा स्थानीय १ सय बढी किसानको झण्डै १२ बिघा जग्गा पर्छ । डुबान क्षेत्रका किसानले मुआब्जा नपाएसम्म तटबन्ध निर्माणको काम सुरु हुन नदिने अडान लिए पछि तटबन्ध निर्माण कार्यले पनि पूर्णता पाउन सकेको छैन ।

जमुनी व्यारेजमा कूल १३ वटा ढोकाछन् । खोलाको तल्लो भागमा ४ वटा ढोकाछन् । २ ढोका हेड रेगुलेटर हुनेछन् । नहर सन्चानलमा आएपछि नहरमा प्रति सेकेन्ड ७ हजार ५ सय लिटर पानी उपलब्ध हुने छ । सामान्य अवस्थामा जमुनी खोलामा २५ हजार लिटर प्रति सेकेन्ड पानी प्रवाह भई रहेको छ । बाढी आएको बेला प्रति सेकेन्ड ४ लाख लिटर भन्दा पनि बढी पानी यो खोलामा प्रवाह हुन्छ ।

जमुनी व्यारेज आफैमा ठूलो योजना भएको र बर्षेनी बाढीको समयमा खोलामा बढी पानी प्रवाह भएर व्यारेजका ढोका खोल्नु पर्ने हुन्छ । त्यति बेला परम्पारगत ढंगले ढोका खोल्नका लागि प्रति ढोका जनही ३ देखि ४ जना जनशक्ति परिचालन हुनु पर्छ ।

विद्युतिय ढोका भए स्विच अन गरे लगत्तै व्यारेजका ढोका खुल्नेछन् । जसले गर्दा व्यारेजमै मानविय तथा भौतिक जोखिम पनि कम हुन जान्छ । यस बाहेक बाढी आएको बेला समयमा ढोका खोल्न नसके खोलाले अन्त बाटो मोडेर जान सक्ने प्रबल सम्भावना पनि हुन्छ । यसो भएको खण्डमा व्यारेज उपयोग बिहिन हुने मात्र नभई आसपासका गाउहरूमा जनधनको पनि ठूलो क्षति हुन सक्छ ।

योजना अन्तर्गत जमुनी खोलाबाट निकालिने नहरको पानी ड्यामबाट करीब ५ सय मिटर दक्षिणमा रहेको गण्डक नहरमा झार्ने योजना छ । जसबाट बाराको १ हजार २ सय र रौतहटको ८ हजार ३ सय गरी कूल ९ हजार ५ सय हेक्टर जग्गामा सिंचाई सुविधा उपलब्ध हुने छ ।

बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका किसानले व्यग्र प्रतिक्षा गरी रहेको यो आयोजना सम्पन्न नै नभई अधुरो छोड्नु दुःखद भएको बताउछन् । सिम्रौनगढ नगरपालिका–३ का किसान सुनिल कुमार कुशवाहा गण्डक नहर यस भेगको लाइफलाइननै रहेको बताउछन् । ‘गण्डक नहरमा बर्षै भरी पानी उपलब्ध गराउने योजना सहित निर्माण थालिएको जमुनि व्यारेज आयोजनालाई अलपत्र पारिनु दुःखद हो,’ उनले भने, ‘यो आयोजना अविलम्ब पुरा गरिनु पर्छ, यसबाट बाराको पूर्वी र रौतहटको पश्चिमी भेगका ठूलो संख्यामा किसान लाभान्वित हुनेछन् ।’

नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जका इन्जिनियर एवम् सूचना अधिकृत सुरेश साह हाल सम्म विद्युतिय ढोकाको टेण्डरनै आह्वान नभएको बताउछन् । ‘बिभागिय स्तरमा विज्ञहरूबीच छलफल र स्थलगत भ्रमणको काम पटक पटक भएको छ, तर विद्युतिय ढोकोका टेण्डर अझै आह्वान भएको छैन,’ उनले भने, ‘जमुनी व्यारेजको १३ र त्यहाबाट निस्किने नहरको २ गरी १५ ढोकामा विद्युतिय गेट प्रणाली जडान गर्न १४ करोड रुपैयाको स्टिमेट तयार गरी कार्यालयले बिभागमा पठाई सकेको छ ।’
तटबन्धमा जग्गा परेका जग्गा धनीको मुआब्जा बितरण कार्य पनि सुरु हुन नसकेको साह बताउछन् । ‘प्रकृयागत रुपमा जिल्ला प्रशासन कार्यालय बाराले यसका लागि सूचना जारी गरी सक्यो,’ उनले भने, ‘अब मुआब्जा बितरण समितिको बैठक बसेर जग्गाको कति मूल्य निर्धारण गर्ने हो भनि तय गर्ने छ, त्यसपछि मुआब्जा बितरणको काम सुरु गरिने छ ।’

हाललाई मुआब्जा बितरण गर्न १ करोड रुपैया बजेट आएको र सुरुमा सोही रकमबाट मुअँब्जा बितरण कार्य सुरु गरिने उनले बताए । त्यसपछि क्रमशः मुआब्जा बितरण कार्यलाई निरन्तरता दिइने उनले बताए । मुआब्जाको काम सम्पन्न नभए सम्म स्थानीयले विद्युतिय गेटको काम सुरु गर्न नदिने अडान लिदैं आएका छन् ।

प्रतिक्रिया