एभरेस्ट बैंकमा तालाबन्दी

जनकपुरधाम । राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानले जनकपुरधाममा बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलाई तीव्र बनाएको छ । आन्दोलनको क्रममा अभियानले सोमबार जनकपुरधामस्थित एभरेस्ट बैंकमा तालाबन्दी गरेको छ भने ज्योति विकास बैंकमा तालाबन्दी गर्न खोज्दा प्रहरीले रोकेको छ । ज्योति विकास बैंकमा तालाबन्दी गर्न खोज्दा आन्दोलनकारी तथा प्रहरीबीच केही बेर घम्साघम्सी भएको थियो ।

बर्दियामा बैंकबाट लिएको ऋणको चर्को ब्याज खेप्न नसकेर एक जनाले आत्महत्या गरेपछि अभियानले देशव्यापी रूपमा बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलन गर्दै आइरहेका छन् ।

बर्दियाका खुशीराम चौधरीले एभरेस्ट बैंक तथा ज्योति विकास बैंकबाट ब्याज लिएका थिए । सोही बैंकहरूको ब्याजको पीडा खेप्न नसकेर आत्महत्या गरेपछि अभियान आन्दोलित भएको हो । अभियानको जनकपुरधाम अञ्चलका संयोजक सुरेन्द्रमणि शर्माको अगुवाइमा बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर चर्को ब्याजको पीडा खेपिरहेका पीडितहरूले जनकपुरधामस्थित ज्योति विकास बैंक र एभरेस्ट बैंकको कार्यालयमा पुगेर मृतक चौधरीको तस्बिर टाँस्नुका साथै विरोध प्रदर्शन गरेका हुन् ।

एभरेस्ट बैंकमा अभियानले तालाबन्दी गरेको थियो भने ज्योति विकास बैंकमा प्रहरीको अवरोधका कारण तालाबन्दी गर्न सकेनन् । ज्योति विकास बैंक अगाडि प्रहरी र आन्दोलनकारी बीच घम्साघम्सी भएको थियो ।

अभियानका संयोजक शर्माले बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याजको नाममा मारिरहेकाले आफूहरूलाई बैंक तथा वित्तीय संस्थाहरूको अन्यायविरुद्ध उत्रिनु परेको बताए । उनले भने ‘ऋणीहरूले समय मात्रै मागिरहेका छन्, पैसा दिन्नौँ भनेका छैनन् तर दिनहुँ बैंकले दिने गरेको तनावका कारण निर्दोषले ज्यान गुमाउनु परिरहेको छ ।’ यो अन्यायविरुद्ध त कसैले बोल्नै पर्छ ।’ त्यसैले हामी बैंक तथा वित्तीय संस्थाहरूको अन्यायविरुद्ध उत्रिएका हौँ ।

अब बैंकले जे व्यवहार आमजनतासँग गर्छ त्यही व्यवहार हामी पनि बैंकसँग गर्न तयार रहेको उनले चेतावनी दिए ।
प्रदर्शनको क्रममा पीडितहरूले यस्तो बैंक चाहिँदैन, निर्दोष मार्न पाइँदैन लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया